काठमाडौँ- सुन तस्करीमा नेपाली र भारतीयको संलग्नता भएको देखिएको छ। शुक्रबार काठमाडौबाट पक्राउ परेका ७ मध्ये ३ जना भारतीय र ४ जना नेपाली नेपाली नागरिक रहेको खुलेको हो।
उनीहरूले तस्करी गरिएको सुनको व्यवस्था गर्ने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मलेन गर्दै जानकारी दिएको हो।
उनीहरूको साथबाट प्रहरीले १ करोड ४३ लाख नगद पनि बरामद गरेको छ।
काठमाडौं महानगरपालिका–२४ दुछेंननी टोलमा केही व्यक्तिले अवैध सुनको कारोबार गरिरहेका सूचनाको आधारमा प्रहरी टोलीले खोजी गर्दा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका-३, टाँटेका ४७ वर्षीय गणेश दत्त बडू, झापाको विर्तामोड नगरपालिका–३ का ३० वर्षीय दिनेश खरेल, दार्चुला टाटे नगरपालिका-३ का २१ वर्षीय आयुष बडू, झापाको विर्तामोड नगरपालिका ३ का २२ वर्षीय भरतराज खरेल छन्।
यस्तै, भारतको महाराष्ट्र राज्यको सांगली आटपाडी थानाका ३७ वर्षीय अमोल विभूत, सोही स्थानका १८ वर्षीय ऋषिकेश प्रकाश विभूते र १८ वर्षीय गणेश सतिश वाल्टे छन्।
गणेश र आयुष बाबुछोरा हुन्। गणेशदत्तकै साँढुदाइका छोराहरू दिनेश र भरतराज सहोदर दाजुभाइ हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
बडू ७ वर्षअघि पनि ८८ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए। २०७४ भदौ १९ गते तत्कालीन काठमाडौं उपत्यका अपराध महाशाखाको टोलीले क्षेत्रपाटीमा रहेको बा १७ च ६४२७ नम्बरको गाडीबाट ८८ किलो सुन बरामद गरेको थियो।
चीनको केरुङ नाकाबाट भित्रिएको सुनको अनुसन्धानका क्रममा प्रहरीले २०७४ असोज ४ गते बडू पक्राउ परे। पछि ५ लाख रुपैयाँ धरौटीमा बडू छुटे।
प्रहरीले बरामद गरेको पछिल्लो सुन चिनियाँ तस्कर समूहले बडूलाई दिएको खुलेको छ।
प्रहरीको अनुसन्धानबाट उक्त सुन १० दिनअघि मात्रै काठमाडौं भित्रिएको खुलेको छ। बरामद नगद तस्करीको सुन बिक्रीवापत आएको प्रहरीको दाबी छ।
भारतीय नागरिक भने तस्करीको सुन किन्ने ग्राहक भएको प्रहरीको दाबी छ। उनीहरूमाथि थप अनुसन्धान गर्न राजस्व अनुसन्धान विभाग पठाउने तयारी प्रहरीको छ।


