काठमाडौँ- इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन्।
प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका हुन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका भए।
सुहाङ २७ हजार ७७२ मतसहित विजयी भए। कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए।
निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए ।
अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए। तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो। नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो।
प्रदेश सभा सदस्यका लागि बझाङ (१) मा उपनिर्वाचनमा पनि नेकपा एमालेकै उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भइसकेका छन् । अघिल्लो निर्वाचनमा बझाङ (१) बाट कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए ।
मन्त्रीसमेत बनेका पृथ्वीबहादुरको सवारी दुर्घटनामा निधन भएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको थियो । पृथ्वीबहादुरका छोरा अभिषेकबहादुर सिंह दोस्रो भए ।


