काठमाडौं- काठमाडौँबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजको इन्जिनमा समस्या भएको भनिएको जहाज दुबईतिर सुरक्षित रुपमा गइरहेको नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जानकारी दिएका छन्। सोमबार राति फेसबुकमा स्टाटस लेख्दै मन्त्री किराँतीले यस्तो जानकारी गराएका हुन्।
‘फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ, कोही चिन्ता नगर्नुहोला, सबैलाई शुभयात्रा,’ मन्त्री किराँतीले लेखेका छन्।
त्रिभुवन विमानस्थलबाट उडेको केहीबेरमा विमानमा इन्जिनमा समस्या भएको भनिएको काठमाडौँ नै फर्कन सक्ने भनेर पाइलटले सूचना गरेका थिए। फ्लाइट राडारको डाटाले समेत जहाज गन्तव्यतर्फ गइरहेको देखाएको छ।

यसअघि जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फोर्स ल्यान्डिङको तयारी गरिएको थियो।
सोमबार राति ९:२१ मा काठमाडौँ विमानस्थलबाट प्रस्थान गर्नेबित्तिकै जहाजको एउटा इन्जिनमा समस्या भएको पाइलटले विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएपछि फोर्स ल्यान्डिङको तयारी भएपनि पाइलटले जहाजलाई गन्तव्यतर्फ नै मोडेका हुन्।

जहाजमा १६२ जना यात्रु रहेको बताइएको छ।
