काठमाडौँ- तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले १४ हजार ३८८ मतान्तरसहित विजयी भएका छन्।
नेपाली कांग्रेस परित्याग गरी रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका वाग्लेले कांग्रेसकै उम्मेदवार गोविन्द भट्टराईलाई फराकिलो मतान्तरले हराएका हुन्।
वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा भट्टराईले २० हजार ९२ मत प्राप्त गरे। तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गरे।
गत मंसिर ४ को आमनिर्वाचनमा तनहुँ-१ मा कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए। उनी राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन गरिएको हो। मंसिरको निर्वाचनमा पौडेल २५ हजार ३ सय ६१ मत प्राप्त गरेर विजयी भएका थिए। त्यति बेला एमालेले १९ हजार ९ सय ८१, स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए।
अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका वाग्लेले स्नातक तहको अध्ययन बिएस्सी (इकोनोमिक्स) लन्डन स्कुल अफ इकोनोमिक्सबाट गरेका थिए। वाग्ले दक्षिण एसियाली थिंक ट्यांक सर्वांगीण विकास अध्ययन केन्द्र (आइआइडिएस) को अध्यक्ष छन्।
डा स्वर्णिमलाई कांग्रेस उम्मेवदार गोविन्दले बधाई दिएका छन्। ‘प्रिय स्वर्णिमजी ! सर्वप्रथम तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यका रुपमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई! चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द प्रतिष्पर्धा रह्यो। र, संयोगले तपाईं निर्वाचित हुनुभयो,’ गोविन्दले लेखेका छन्।
आफूलाई मत दिएका मतदाताको विश्वास पनि अब डा स्वर्णिमकै अभिभारा बन्न पुगेको समेत उनले लेखेका छन्। आफूले पदको सपना नदेखे पनि विकासे अभियन्ताका रुपमा निरन्तर खटेको र अब पनि खटिरहने गोविन्दको प्रतिबद्धता छ।
