काठमाडौँ- अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा राजधानीमा आज विभिन्न ट्रेड युनियन महासंघले र्याली निकालेका छन्।
मजदुर तथा श्रमिक वर्गको हकहितका लागि विभिन्न नाराका साथ उनीहरूले र्याली निकालेका हुन्।
हरवर्ष मे १ मा अन्तर्राष्ट्रिय मजदुर दिवस (मे डे) मनाउने गरिन्छ। सन् १८८६ मा अमेरिकाको सिकागोमा ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाउन थालिएको हो।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो।
नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै मे डे मनाइन थालिएको हो।
विश्वका धेरै राष्ट्रहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ भने केही राष्ट्रहरूमा यस दिन वसन्त ऋतुको पर्व मे दिवसको रूपमा मनाइन्छ।
त्यस्तै अमेरिकालगायतका केही राष्ट्रहरूमा मजदुर दिवस अलग्गै दिनमा मनाउने पनि गरिन्छ ।
अन्तर्राष्ट्रिय रुपमा मजदुर दिवस मनाइरहँदा भने नेपालमा भने श्रमको मूल्य नपाएको गुनासोमा सीमित हुने गरेको छ।
८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम भन्ने नारा नेपालका श्रमिक मजदुरवर्गमा लागू नभएको देखिन्छ।










