काठमाडौँ- वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल २८ रनले पराजित भएको छ।
वेस्ट इन्डिजले दिएको २१० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा पुरै विकेट गुमाएर १८१ रन मात्र जोड्न सकेपछि पराजित बन्न पुगेको हो।
खेलमा नेपालका कप्तान रोहित पौडेलले ८२ रन बनाए। सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले १९-१९ रन बनाए। सोमपाल कामी १० रनमा आउट हुँदा अविनाश बोहराले १७ रन बनाए। बाँकी ब्याटरले दोहोरो अंक भेट्न सकेनन्।
बलिङतर्फ म्याथु फोर्ड र हेइडेन वाल्सले ३-३ विकेट लिएको खेलमा गुडाकेश मोटी र फाइबेन आलेनले २-२ विकेट लिएका थिए।
बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको नेपाल र वेस्ट इन्डिजबीचको खेल चौथो हो।
खेलमा यसअघि वेस्ट इन्डिजले टस जितेर ब्याटिङ गर्दै ३ विकेट गुमाएर २०९ रन बनाएको थियो।
वेस्टका आन्द्रे वेस्टलरले नटआउट रहँदै ८४ रन बनाउँदा जोन्सन चार्ल्सले ५८ रन बनाएका थिए। फाइबान आलेनले ३३ रन जोडेका थिए।
वेस्ट इन्डिजका दुई विकेट कुशल भुर्तेलले लिएका थिए भने प्रतीश जीसीले एक विकेट लिए।
कुशल भुर्तेलले वेस्ट इन्डिजका चौथो नम्बरका ब्याट्सम्यान केसी कार्टी र जोन्सन चार्ल्सको विकेट लिएका थिए।
पाँच खेलको शृंखलामा वेस्ट इन्डिज २–१ ले अगाडि छ।
शृंखलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो भने दोस्रो र तेस्रो खेलमा नेपाल पराजित बनेको थियो।
दोस्रो खेलमा वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो।
तेस्रो खेलमा वेस्ट इन्डिजले नेपाललाई ७६ रनले हराएको थियो।


