काठमाडौँ- वैशाखको चर्को घाम, दिनको ३ बजेको समय। गोदावारीमा रमाउन आएका मानिसहरूको फोटो लिँदै गर्दा लेन्समा परे एक बालक। तर उनको प्रतिक्रिया फरक थियो- ‘दाइ फोटो त सोधेर खिच्दा राम्रो होला नि।’
१२ वर्ष पनि नपुगेका रितिक पासवान रहेछन्। रौतहटका घर भएका उनका बाआमा उतै। एक जना दाइ, त्यो पनि विदेशमै हराएको। बा मुटुको रोगी, घरमा दैनिक हातमुख जोड्न पनि धौधौ। यही कारणले गर्दा १२ वर्ष नपुग्दै रितिक कक्षा चारमा पढ्दै गर्दा गाउँकै चिनेको एक जना दाइसँग काठमाडौँ तिर हानिए।
साहुले दिएको कटन क्यान्डी र खेलौना बिक्री गर्न दिनभरि काठमाडौँका विभिन्न ठाँउहरुमा पुग्ने रितिकसँग मेरो भेट रिपोटिङको शिलशिलामा गोदावरीमा भयो। मानिसहरूको भिड र त्यही भिडको वरिपरि हिँड्ने रितिकसँग कसैले केही किनिदिन्छ कि भन्ने बाहेक अरू केही कुराको आशा छैन। मैले रितिकसँग केवल २ घण्टा समय मात्र बिताएँ। उनको जीवनको भोगाइलाई नजिकबाट हेर्ने कोसिस मात्र गरेँ।
हामी सँगसँगै हिँड्दै जाँदा गोरावादीमा सामूहिक भोज भइरहेको स्थानमा पुग्यौँ र सायद रितिकको मनमा पनि आशा पलाइको थियो होला कसैले किनिदेला। तर त्यहाँ पुग्न नपाउँदै एक जना आमाले यता नआइज उता जा भन्दै रितिकलाई कराइन्। आफ्ना नानीबाबुले क्यान्डी किन्दे भन्दै कर गर्लान् भन्ने पीर ती महिलामा देखिन्थाे।
सानो उमेरमा पनि बाध्यता, अवस्था र परिस्थितिले रितिकलाई इमानदार र व्यवहारिक बनाएको छ। सायद सधैजसो गोदावारी मै आउने भएकाले होला रितिकलाई त्यहाँ नचिन्ने र नबोल्ने कोही छैन। मैले एक जना दिदीलाई सोधेँ- यो भाइ कस्तो छ, तपाईहरुसँग कस्तो बोलीचाली र व्यवहार गर्छ? उनले इमानदार, असल भएको जवाफ दिइन्।
रितिकको दैनिकी क्यान्डी बिक्रीका लागि हिँड्ने हो, साहुले हातमा थमाई दिएको क्यान्डी र केही खेलौना, यही बिक्री गर्ने रितिकको लक्ष्य पनि हो, दैनिक रुपमा फरक फरक कमाई कहिले दिनको चार सय, कहिले पाँच सय त कहिले सात सय आठ सय, महिनाको तलब भने ६ हजार मात्र। त्यसमा पनि आधा भन्दा बढी कमाई घरमा पठाउन पर्ने। ललितपुरको लगनखेलमा साहु र साहुको भाइ अनि आफू जस्तै क्यान्डी बिक्री गर्न हिँड्ने अरू दुई चार जना साथीहरूसँगै बस्छन् रितिक।
आफ्नो गाउँबाट टाढा राजधानीमा उमेरै नपुगी काम गर्न बाध्य रितिकलाई अरु कुनै कुरा थाहा छैन।
उपत्यकामा विभिन्न ठाँउमा क्यान्डी बिक्री गर्ने साना भाइ बहिनीहरूलाई साहुले नै गाउँबाट ल्याउने र यसरी नै काममा लगाने गरेको रितिकले बताए। मेरो साहुको नाम शैलेन्द्र साह हो। हामीलाई उसैले सामान दिन्छ, दिनभरि बेच्ने कोठाबाट बिहान १० बजे निस्कने र साँझमा ७ बजे फर्कने।
विभिन्न बाध्यता, पारिवारिक अवस्था र परिस्थितिका कारण आफ्नो कलिलो उमेरमै बालश्रम गर्न बाध्य रितिक पासवास र उनी जस्तै अन्य बालबालिकाको बाल अधिकारबारे सरकार बेखबर छ।















मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी


