बाग्लुङ- बाग्लुङको गलकोट नगरपालिकाका सार्वजनिक स्थानमा सीसी क्यामेरा जडान गरिएको छ। नगर प्रमुख भरत शर्मा गैरेले नागरिकलाई शान्तिको प्रत्याभूति दिलाउन नगर भित्रका सार्वजनिक स्थानमा सीसी क्यामेरा जडान गरिएको जानकारी दिए।
नगरभित्रका १९ स्थानमा २० वटा सीसी टिभी क्यामेरा जडान गरिएको छ। गलकोट नगरपालिकाको भ्यू टावर, दुदिलाभाटी बजार, नरेठाँटी बजार, नरेठाँटी पुलचोक, ढले पिपल, डाँडाखेत, हटिया सिवाईसि चोक, हटिया बजार, सिमखेत, घट्टेखोला, हटिया प्रगति चोक, भैंसेपुल, आँगाखेत चोक, बाँसखोला, मनसुन चोक, गलकोट नगरपालिका चोक, हरिचौर बजार, गलकोट नगरपालिका-५ स्थित नमस्ते चोकमा सीसीटीभी जडान गरिएको छ।
आपराधिक घटना भए अनुसन्धानमा सहयोग पुर्याउन ईलाका प्रहरी कार्यालयसँगको समन्वयमा सीसीटीभी जडान गरिएको नगरप्रमुख गैरेको भनाइ छ।
शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न ट्राफिक नियमको उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउन र राजमार्ग क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा सीसी क्यामेराले सहयोग गर्ने गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेको विश्वास छ।
कार्यालयमा बसेर मध्यपहाडी लोकमार्ग क्षेत्र, मानिसको बढी मात्रामा जमघट हुने सार्वजनिक स्थानमा निगरानी गर्न सकिने र आपराधिक व्यक्तिको पनि पहिचान छिट्टै हुने भएकाले सीसी क्यामेरा जडान भएपछि सहज भएको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख डेकेन्द्र शर्माले बताए।
