काठमाडौं– बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन्।
सफाइ पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सन्दीपले आफूलाई फसाएर दोषी करार गरिएको आरोप लगाए।
‘धेरै तरिकाले फसाएर नभएको अपराधको दोषी करार गरिएको थियो। फाइनल्ली यहाँ आइपुगेका छौं,’ उनले भने, ‘जति हुनसक्छ आगामी दिनमा प्रयास गर्नेछु, जहाँ मैले पुर्याएको थिएँ त्यसभन्दा पनि माथि पुर्याउन।’
लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न पठाउने भएको छ।
अमेरिका र वेस्ट इन्डिजमा हुने खेलमा सन्दीपलाई पठाइने क्यानले जानकारी दिएको हो।
बिहीबार सन्दीपको निलम्बन फुकुवा गरी पठाइने क्यानको भनाइ छ।
आईसीसीको नियमअनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न पाउने व्यवस्था छ। अहिले नेपाली टोली वेस्ट इन्डिजमा अभ्यासरत छ।
नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ।






