काठमाडौं- प्रतिनिधि सभा संसदको बैठक मुठभेडतर्फ अघि बढेको छ। बिहीबार बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको हो।
सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको हो।
सभामुखले गृहमन्त्रीलाई समय दिँदा कांग्रेस सांसदहरुले वेल घेराउ गरिरहेका थिए। कांग्रेस सांसदहरुले गृहमन्त्रीलाई रोष्ट्रममा जान नदिन बाटो छेकेर नाराबाजी गरिरहेका थिए।
त्यही बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अरु सांसदहरुले लामिछानेलाई रोष्ट्रममा जान भने।
यसपछि कांग्रेस नेताहरुसँग ओलीसहितका एमाले सांसद धकेलधाकेलमा उत्रिए।
केही समयको धक्काधक्कीपछि सभामुख देवराज घिमिरेले रवि लामिछानेलाई आसन ग्रहण गर्न भने। तगत्तै उनले बैठक स्थगित गरे।
अर्को बैठक जेठ ४ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो।

























