काठमाडौँ- पशुपतिनाथ मन्दिरका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले भेटी चोर्नका लागि कर्मचारी खटाएको पाइएको छ।
पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न कर्मचारीले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष सुवेदी भेटी चोरेर बुझाउन भनेको कर्मचारीले प्रहरीसमक्ष बताएका छन्। कोषाध्यक्ष सुवेदीको निर्देशनमा आफूले भेटी चोरेर उनैलाई बुझाएको ती कर्मचारीको जिकिर छ।
पशुपति भेटी चोरीरहेको अवस्थामा पशुपति क्षेत्र विकास कोषका ७ जना कर्मचारीसहित ८ जनालाई प्रहरीले सोमबार रंगेहात पक्राउ गरेको थियो।
पशुपति क्षेत्र विकास कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै भेटी लुकाएर लैजाने गरेको खुलेको सूचना प्रहरीलाई पुगेको थियो। कोषको सोही सूचनाका आधारमा प्रहरी वृत्त गौशालाको टोलीले ८ जनालाई पक्राउ गरेको हो।
कोषका प्रवक्ता रेवतिरमण अधिकारीका अनुसार संकलित भेटी नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको बत्तीसपुतली शाखाका कर्मचारीले मन्दिर परिसरमै जम्मा गर्ने गरेका थिए।
उनका अनुसार पक्राउ परेका अभियुक्तले ज्याकेटमा लुकाएर रकम लाने गरेको सीसीटीभी फुटेजमा देखिएको छ।
पक्राउ परेका अनिल परियारले कोषाध्यक्ष सुवेदीले नै आफूहरूलाई नै पैसा संकलन गर्न र लुकाएर ल्याउन खटाएको बयान प्रहरीलाई दिएका छन्। उनले परियारले सुवेदीकै निर्देशनमा दैनिक तीन हजारदेखि १५ हजारसम्म लिने गरेको बयान प्रहरीसमक्ष दिएका छन्।
पक्राउ परेका परियारले कोषाध्यक्षले ज्याकेट लगाएर आउनू भन्ने र रकम संकलनपछि लुकाएर आफ्नो जिम्मा लगाउन भन्ने गरेको बयान दिएका छन्। ‘सीसीटीभी छ, हामी यस्तो काम नगर्ने भन्दा केही हुँदैन, कसैले देख्दैन गर भन्नुभयो, अनि गरेको,’ उनले बयानमा भनेका छन्।
गौशाला प्रहरीका डिएसपी केशवराज थेबेले पशुपतिको भेटी चोरीको विषयमा अनुसन्धान भइरहेको बताए।


