काठमाडौँ- बाजुरालाई केन्द्रबिन्दु बनाएर बिहीबार राति दुई पटक भूकम्प गएको छ। राति ११:५८ बजे गएको भूकम्प ४.९ म्याग्निच्युडको थियो भने त्यसको ३२ मिनेटपछि १:३० बजे गएको भूकम्प ५.९ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
पहिलाे ११:५८ मा गएकाे भुकम्प बाजुरा सदरमुकाम नजिकै बडीमालीका नगरपालिका ७ ढम्कनेमा रहेकाे जनाएकाे छ। त्यसै गरी राती २ बजेकाे भुकम्पकाे केन्द्रबिन्दु हिमाली गाउँपालिकामा रहेकाे जनाएकाे छ।
मध्यरातमा भूकम्प आएपछि मानिसहरु आत्तिएर घर बाहिर निस्किएका थिए। भूकम्पको धक्का बाजुरासँगै आसपासका जिल्लामा पनि महसुस भएको थियो।
यसैबीच बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले भूकम्पका कारण क्षतिको विवरण नआएको बताएका छन्। क्षतिको विवरण संकलनको काम जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।


