काठमाडौँ- हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथस्थित वनकालीमा ऐतिहासिक विशाल कोटीहोम यज्ञ गरिने भएको छ। मानवसेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घसंस्थाको आयोजनामा कोटीहोम महायज्ञ सञ्चालन हुने भएको हो।
उक्त महायज्ञ आगामी साउनभर चल्ने श्रीमद्भागवत कथा पुराण प्रवक्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिले जानकारी दिए। हाम्रो धर्म संस्कृतिको संरक्षण समग्र मानवजातिको सुख, शान्ति र समृद्धिका लागि महायज्ञ गर्न लागिएको उनले बताए।
नेपाल अध्यात्म भूमि हो। यस तपोभूमिबाट योग, ध्यान, प्रणाम धर्म, ज्ञान, साधना र विज्ञानको महत्व विकास भएकाले हो भन्ने जानकारी र सन्देशसमेत जनजनमा पुर्याउने महायज्ञको ध्येय रहेको छ। मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने पनि महायज्ञको उद्देश्य रहेको आयोजकले जनाएका छन्।
मामाघर अनाथालय आश्रमले अनाथ र आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकालाई निःशुल्क भोजन, आवास तथा स्वास्थ्य र शिक्षा प्रदान गर्दै आएको छ। यस्तै छोरीको घर ज्येष्ठ नागरिक आश्रमले बेसहारा, शोषित र पीडित ज्येष्ठ नागरिकलाई गास, बास, कपासका साथै स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ। महायज्ञ अवधिभर जगद्गुरु, साधुसन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकबाट आशीर्वचन तथा कथा प्रवचन हुनेछ। विभिन्न गुरुबाट नित्य हवन, पूजा, आरती र भजनकीर्तन हुने आयोजकले जनाएको छ।


