काठमाडौँ- नयाँसडक (न्यूरोड)लाई साँघुरो बनाउने काठमाडौं महानगरपालिकाको योजनाको विरोधमा नयाँसडकका स्थानीयले विरोध गरेका छन्। नयाँसडक गेटमा मानव साङ्लो बनाएर स्थानीयले सांकेतिक विरोध गरेका हुन्।
यसअघि महानगरले सार्वजनिक बाटो साँघुरो बनाएर फुटपाथ क्षेत्र ठूलो बनाउन लागेको थियो। उक्त कामलाई उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको निर्देशनमा रोकिएको काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले आरोप लगाएका थिए।
मन्त्रीको निर्देशनका काम रोक्का गरिएपछि बालेन आक्रोशित बनेर सडक विभाग र सडक डिभिजन कार्यालय काठमाडौँअघि फोहोर लगेर थुपारिदिएका थिए।
उता मन्त्री महासेठले भने न्युरोडमा फुटपाथ बढाउने काठमाडौँ महानगरको कदम कानुनसम्मत नभएको बताएका थिए।
आइतबार संसद भवन सञ्चारकर्मीसँग कुरा गर्दै महासेठले सडक विभागमा धुलो खन्याउने कदमप्रति कुनै गुनासो नभएपनि न्युरोडमा फुटपाथ बढाउने नाममा सार्वजनिक बाटोको चौडाइ घटाउने काम कानुनसम्मत नभएको बताएका थिए। कानुनसम्मत नभएकै कारण सडक विभागले त्यसलाई रोकेको उनको भनाइ थियो।









तस्बिर: नेपाल फोटो लाइब्रेरी


