काठमाडौँ- एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरी कीर्तिमान राख्न सफल पर्वतारोही तथा पत्रकार पूर्णिमा श्रेष्ठलाई काठमाडौँमा स्वागत गरिएको छ। लुक्लाबाट काठमाडौँ आएकी श्रेष्ठलाई काठमाडौँ विमानस्थलमा स्वागत गरिएको हो।
वसन्त ऋतुमा जारी सगरमाथा आरोहणमा उनले शनिबार बिहान सगरमाथाको चुचुरोमा तेस्रो पटक पाइला टेकेर कीर्तिमान बनाएकी थिइन्।
योसहित उनले ४ पटक सगरमाथाको शिखर चुमेकी छन्। श्रेष्ठले यसअघि यही याममा मे १२ तारिखमा पहिलो पटक तथा मे १९ मा दोस्रो पटक सगरमाथाको सफल आरोहण गरेकी थिइन्।
गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् १०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन्। उनले सगरमाथासहित विश्वका विभिन्न हिमाल आरोहण गरिसकेकी छन्।
विश्वका आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण अभियानमा रहेकी श्रेष्ठले गत वर्ष साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको आरोहण गरेकी थिइन्।









