काठमाडौं- त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको सुरुवातमै शनदार प्रदर्शन गरेको नेपालले ११८ रनको मध्यम लक्ष्य पाएको छ।
सोमबार रोकिएर मंगलबार पुनः रोकिएकै स्थानबाट सुरु भएको खेलमा नेपाललाई युएईले ११८ रनको लक्ष्य प्रस्तुत गरेको हो। सोमबार २७.३ ओभर खेल्दा ९ विकेट गुमाएर १०६ रन संकलन गरेको युएईले मंगलबार अलआउट हुँदासम्म ११७ रन मात्र संकलन गर्न सकेपछि नेपालले मध्यमस्तरीय लक्ष्य पाएको हो। मंगलबार यूएईले ५.४ ओभर मात्र टिक्न सक्यो र टोलीले ११ रन थप्न सकेको हो।
नेपालले मंगलबार पनि सोमबारकै लयमा बलिङ कायम राख्यो। ललितले युएईका जुनैद सिद्दकीको विकेट लिएपछि नेपालले सामान्य लक्ष्य पाएको हो। यो ललितको व्यक्तिगत चौथो विकेटसमत रह्यो। फाइनल खेलमा सन्दीप र करणले समान दुईदुई विकेट लिएका छन्। त्यस्तै, सोमपाल र गुल्सन झाले समान एकएक विकेट गिराएका छन्।
यसअघि सोमबार भएको फाइनलकै खेलमा नेपालले चौथो, पाँचौ, नवौं र १० औं ओभरमा गरेर पावर प्लेमै चार विकेट गिराएको थियो। चौथो ओभर सम्हालेका सोमपालले ११ रन बनाएका मुहम्मद वासिमलाई ललित राजवंशीको हातबाट क्याचआउट गराएका थिए। त्यतिबेला युएईले आफ्नो खातामा १७ रन मात्र बनाएको थियो।
त्यस्तै, खेलको अर्को ओभर(पाँचौ)मा करण केसीले वृत्या अरविन्दाई आउट गराएका थिए। वृत्याले आजको खेलमा ९ बलमा आठ रन मात्र बनाए। यसअघिका खेलमा निकै सानदार पारी खेलिरहेका वासिम र वृत्यालाई आउट गराएपछि नेपाली बलिङलाई दबाब कम भएको थियो।
वृत्याले यसअघि कुवेत, सिंगापुर, र बहराइनविरुद्ध क्रमशः १८२, १७४ र ६२(अविजित) रन बनाएका थिए। वासिमले पनि सिंगापुरविरुद्ध १६० र बहराइनविरुद्ध ४८ रन बनाएका थिए। त्यसैले यि दुई खेलाडीको विकेट नेपाली बलको पहिलो प्राथमिकतामा रह्यो।
सोमबार १० ओभरसम्म नेपालले कसिलो र घातक बलिङ गरिरह्यो। करण केसीले ओपनर आयान लाक्रालाई नवौं ओभरको पहिलो बलमा पेवेलियनको बाटो देखाएका थिए। करणले उनलाई आरिफ शेखको हातबाट क्याचआउट गराउन सफल भए। त्यसअघि ललितले डिपमा क्याच मिस गरेका थिए। तिनै ललितले १० औं ओभरको पहिलो बलमा रमिजलाई आउट गराए।
पाँच बलमा एक रन मात्र बनाएका रमिजलाई ललितको बलमा गुल्सन झाले क्याचआउट गराएका थिए। यसरी चार विकेट गिराउँदासम्म युएईले आफ्नो खातामा ३५ रन बनाएको थियो। र, पावर प्ले सकिँदा उसले ३९ रन मात्र बनाउन सकेको थियो।
चार विकेट गएपछि युएईको ब्याटिङमा आसिफ खान र रोहन मुस्तफा प्रवेश गरेका थिए। उनीहरुले लामो पारी खेल्ने आशा गरिएको थियो। तर १५ बल खेलेका रोहन मुस्तफा दुई रन बनाएरै डगआउट फर्किए। उनी बाहिरिँदा नेपालको सन्दीप लामिछानेको विकेटका खाता खुलेको थियो। रोहनको विकेट क्याच गर्ने चाहीँ कुशल मल्ल रहे। यससँगै १३ ओभर एक बलमा ५१ रन बनाएर युएईले विकेट पाँचौ विकेट गुमाएको थियो।
यता, आसिफ खानले भने सम्हालिएर खेले। उनलाई पेबेलियन फर्काउन नेपाली बलरलाई गाह्रो पर्यो। त्रिवी मैदान आसपासमा खेल सुरुभएसँगै सामान्य वर्षा पनि सुरु भए पनि फाइनल खेल रोकिने गरि वर्षाको थिएन। तर १६ ओभर सकिएपछि दिउँसो १०ः२५ बजे वर्षा बढेसँगै खेल अम्पायरले खेल रोकेका थिए। मैदान र पीचलाई पालले ढाकिएको थियो।
यसरी खेल २५ मिनेट अवरुद्ध भयो। त्यसबेलासम्म युएईले पाँच विकेट गुमाएर ६० रन बनाएको थियो। त्यसपछिको खेलमा आसिफले निकै राम्रो पारी खेले। समयमै पाँच विकेट गिराएको नेपालले बाँकी थप विकेट गिराएनको लागि भने गुल्सनको २३ औं ओभर नै पर्खिनु पर्यो। आफ्नो चौथो बलमा मिडियम पेसर गुल्सनले बसिल अहमदलाई क्लिन बोल्ड गरे। त्यसक्रममा बसिलले २७ बलमा १० रन जोडिसकेका थिए।
सन्दीपले मेडन विकेट त्यतिबेला लिए जब युएईले १०३ रन बनाएको थियो। भर्खरै आउट भएका हमिदको ठाउँमा मैदान पसेका आयान अफजल खान ५ रन बनाएपछि कुशल मल्लको हातबाट क्याचआउट हुनपुगे। लगातार तीन ब्याटर आउट भए पनि खान भने मैदानमा जमिरहेका थिए। खानलाई पवेलियन पर्काउनका लागि ललित कामयाब रहे। सात चौकाका साथ ४६ रन बनाएका खानलाई ललितले क्याचआउट गराए।
ललितले २८औं ओभरमा लगातार दुई विकेट(आसिफ र जहुर खान) लिए। दुवै खेलाडीलाई आरिफले क्याचआउट गराए। जहुर त शून्य रनमै आउट भएका थिए। यससँगै युएईको नौं विकेट गएको थियो।
युएईको नौ विकेट गएसँगै मैदानमा पुनः वर्षा सुरु भएको थियो। ११ः४८ पछि खेल रोकिएको थियो। त्यसपछि दिनभरी नै खेल सञ्चालन हुन सकेन। दिनभरी वर्षा भएपछि साढे तीन बजे खेल मंगलबारसम्मको लागि स्थगित गरिएको थियो।


