काठमाडौँ- आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट माथि छलफल सुरु भएको छ। बजेटमाथिको छलफल चलिरहँदा सांसदहरू भने ‘गायब’ हुन थालेका छन्।
सरकार पक्ष र प्रतिपक्ष दुवैका सांसद हाजिर लगाएर सदन छाडेर या त क्यान्टिन या त आफ्नै काममा निस्कने गरेका छन्।
सांसद नै नभएपनि सभामुखले रित्ता कुर्सीलाई बजेट बहस सुनाउने क्रमलाई निरन्तरता दिइरहेका छन्। बजेट बहसमा सहभागिता बढाउन उनले कुनै रुचि देखाएका छैनन्।
बजेटमाथिको छलफल कर्मकाण्डी मात्र भएकाले सांसदहरूले चासो नदिएका हुन्।
विपक्षका सांसदले जतिसुकै चर्को भाषण गरेपनि बजेटमा सरकार/अर्थमन्त्रीले चाहेबाहेकको अवस्थामा ‘कमा, फुलस्टप’ पनि परिवर्तन नहुने भएपछि सांसदले बजेट बहसलाई बहिष्कार गर्ने क्रम बढ्दै गएको छ।
कर्मकाण्डी बजेट बहसबाट दिक्दार भएका राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले बजेटमाथिको छलफलको कुनै औचित्य लाग्न छोडेको बताए।
दिक्कलाग्दो छलफल देखेर आफूलाई कुनै उत्साह नभएकाले आफू एकछिन निदाएको पनि उनले सोमबारको बैठकमा रोस्टमबाटै बताएर सत्यता उजागर गरे।
‘यहाँ जति उफ्रे पनि सत्तापक्षले पेस गरेको बजेट एक सुका, एक आना तलमाथि गर्न नपाइने, यहाँ जे आएको छ त्यसलाई स्वीकार गर्नुपर्ने भएपछि छलफलको पनि औचित्य लाग्न छाड्यो,’ केसीले भने, ‘आज यही छलफलको कुरा सुन्दा वाक्क लागेर निदाएछु एकछिन। यस्तो पो हुन गयो। रमाइलो छैन संसद, दिक्कलाग्दो छ।’



















