महेन्द्रनगर- परराष्ट्रमन्त्री एनपी साउदले मानसखण्ड सर्किट विकासका लागी भारत सरकार पनि सकारात्मक भएको बताएका छन्। श्री ग्वासी समैजी क्षेत्र विकास तथा सनातन धर्म संरक्षण समितिको १३औँ साधारणसभामा शनिबार बोल्दै मन्त्री साउदले यस्तो बताएका हुन्। मानसखण्ड सर्किट निर्माण गरेपछि धार्मिक पर्यटन तथा आर्थिक विकास रुपमा हुने उनको विश्वास छ।
‘मैले सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई मानसखण्ड सर्किटको विकासका लागि मानसखण्ड क्षेत्रभित्र भारतमा रहेका धार्मिक क्षेत्र र नेपालमा रहेका धार्मिक क्षेत्रहरुको गृहकार्य गर्न र प्रपोजल बनाउन आग्रह गरेको छु,’ उनले भने, ‘उहाँले सो कार्य म गर्छु भनेर भन्नु भएको छ। भारत सरकार पनि मानसखण्ड सर्किट विकासका लागि सकारात्मक भएको मैले पाएको छु।’ यो विषयमा भारत सरकारसँग पनि आफूले छलफल गर्ने मन्त्री साउदको भनाइ थियो।
‘गेटा मेडिकल कलेजलाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ। अहिले यसलाई सञ्चालनमा ल्याउन सरकारले तयारी गरिरहेको छ,’ मन्त्री साउदले भने, ‘यसका लागि ऐन बनाउनका लागि काम अघि बढेको छ।’
मोहना नदीको तटबन्ध, जोडाघाटदेखि धनगढीसम्म जाने वैकल्पिक सडकलगायतका विकास निर्माणका काम अगाडि बढाइने पनि उनले उल्लेख गरे। विकास निर्माणका काममा सबैको सहयोग सहकार्य रहनुपर्ने उनको भनाइ थियो।
परराष्ट्रमन्त्री साउदले दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई देशकै पहिलो चिकित्सा विश्वविद्यालयका रुपमा विकास गरी सञ्चालनमा ल्याउने तयारी सरकारले थालेको पनि बताए। गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालयका रुपमा सञ्चालनमा ल्याउने गरी तयारी थालिएको उनको भनाइ छ।
‘गेटा मेडिकल कलेजलाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ। अहिले यसलाई सञ्चालनमा ल्याउन सरकारले तयारी गरिरहेको छ,’ मन्त्री साउदले भने, ‘यसका लागि ऐन बनाउनका लागि काम अघि बढेको छ।’
विश्वविद्यालय सञ्चालनमा आएमा सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा निकै टेवा पुग्ने मन्त्री साउदले विश्वास व्यक्त गरे। सुदूरपश्चिम पर्यटकीय, पूर्वाधार, शैक्षिकलगायत दृष्टिकोणले अथाह सम्भावना बोकेको प्रदेश भएको समेत उनले बताए। ‘सुदूरपश्चिम निकै सम्भावना बोकेको क्षेत्र हो, त्यसमा थुप्रै चुनौती पनि छन्,’ उनले भने, ‘चुनौती चिर्दै अगाडि बढ्नु पर्छ।’
