काठमाडौँ- नयाँदिल्लीस्थित नेपाली दूतावासले राष्ट्रपति रामचन्द्र पौडेल आइतबार अस्पतालबाट डिस्चार्ज हुन सक्ने सम्भावना रहेको जानकारी दिउको छ। शनिबार विज्ञप्ति जारी गर्दै दूतावासले यस्तो जानकारी गराएको हो।
राष्ट्रपति पौडेल भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचाररत छन्। उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकलाई उद्धृत गर्दै राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको उपचार भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा आज पनि जारी रह्यो,’ दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपतिज्यूको उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरूले उहाँको स्वास्थ्यमा राम्रो सुधार भएकोले भोलिसम्ममा अस्पतालबाट डिस्चार्ज हुनसक्ने सम्भावना रहेको बताएका छन्।’
वैशाख ६ गते पौडेललाई उपचारका लागि भारत लगिएको थियो। राष्ट्रपति पौडेलको उपचारमा एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनीत मिश्रको टोली संलग्न छ।



