काठमाडौं– नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति तत्कालै गर्न सरकारसँग माग गरेको छ।
एसोसिएसनकी महासचिव अन्जिता खनालले विज्ञप्ति निकालेर सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित सबै अदालतका न्यायाधीश नियुक्त गर्न माग गरेकी हुन्।
‘सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति समयमा हुन नसक्दा समग्र न्यायपालिका नेतृत्वविहीन हुन पुगी न्यायपालिकाप्रति जनआस्था खस्किँदो अवस्थामा छ,’ विज्ञप्तिमा भनिएको छ, ‘देशभरिका अदालतमा रिक्त न्यायाधीशको पदपूर्ति हुन नसक्दा सेवाग्राहीले संविधानद्वारा प्रत्याभूत स्वच्छ न्याय पाउने हकबाट वञ्चित हुनुपरेको छ।’
हाल सर्वोच्चमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की छन्।
एसोसिएसनले प्रधानन्यायाधीश नियुक्ति, न्यायपालिकाको विकृति, विसंगति अन्त्य, पूर्ण स्वचालित पेसी व्यवस्थापन प्रणालीद्वारा तोक्ने प्रक्रियाको थालनी गर्न माग गर्दै आइतबारदेखि दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने बताएको छ।
एसोसिएसनका माग पूरा गराउन आजदेखि एक सातासम्म प्लेकार्ड र ब्यानरसहित संवैधानिक परिषद्का प्रमुख र सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराइने खनालले बताइन्।
