काठमाडौं– प्रहरीले ७ वैशाखमा भएको कपन सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्य (निरु) को हत्यामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरेको छ। निरुको दिउँसोको समयमै छुरा प्रहार गरी हत्या भए पनि प्रहरीले हालसम्म घटनाको विस्तृत विवरण बाहिर ल्याउन सकेको छैन।
हत्या प्रकरणको अनुसन्धानका लागि गठित छानबिन समितिले झापाबाट हत्यामा संलग्न रहेको आशंकामा विनोद विकलाई पक्राउ गरेको स्रोतले जानकारी दिएको हो।
हत्या भएको लामो समय बितिसक्दा पनि अपराधी फेला पार्न नसकेको भन्दै नागरिक स्तरबाटै विरोध भएपछि प्रहरीले एआईजी किरण वज्राचार्यको नेतृत्वमा समिति गठन गरी अनुसन्धानलाई अगाडि बढाइरहेको छ।
निरुमाथि छुरा प्रहार गरेलगत्तै प्रहरी प्रभाग, कपनको टोली घटनास्थलमा पुग्नेबित्तिकै त्रिवि शिक्षण अस्पताल लगिएको थियो। तर चिकित्सकले मृत घोषित गरेका थिए।
पोस्टमार्टममा संलग्न चिकित्सकका अनुसार निरुको शरीरमा कम्तीमा १९ पटक छुरा प्रहार गरिएको थियो। निरुले झण्डै १० वर्षदेखि ‘निरु किचन’ चलाउँदै आएकी थिइन्।
