काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन मुलुकभर वर्षा हुने सम्भावना रहेको बताएको छ। पश्चिमी वायु सक्रिय रहेकाले अझै तीन दिन सबै प्रदेशमा वर्षा जारी रहने सम्भावना देखिएको हो।
मौसम पूर्वानुमान महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार यतिबेला गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ।
काठमाडौं उपत्यकामा आज पनि वर्षाको सम्भावना देखिएको मौसमविद् नगरकोटीको भनाइ छ। ‘विगत २० घन्टामा काठमाडौं उपत्यकामा ४३ मिलिमिटर वर्षा भएको छ। काठमाडौंमा हिजो मध्यम खाले वर्षा भएको छ’, उनले भनिन्।
मौसम महाशाखाले आज बिहान ६ बजे आगामी २४ घन्टाका लागि चेतावनी जारी गरेको छ। ‘देशभर जुनसुकै ठाउँ) मा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघ गर्जन/चट्याङ, हावाहुरीबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ’, महाशाखाले सचेत गराएको छ।


