काठमाडौँ- वर्षाका कारण खेल रद्द भएपछि आईसीसी टी–२० विश्वकपमा नेपाल र श्रीलंकाले अंक बाँडेका छन्।
अमेरिकाको फ्लोरिडामा हुने खेल वर्षाका कारण रद्द भएको हो। योसँगै दुबै टोलीले समान १–१ अंक बाँडेका छन्।
मंगलबार राती देखिनै लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकी खेल रद्द भएको हो।
नेपाल र श्रीलंका दुबै खेलाडीले समर्थकलाई धन्यावाद दिएका छन्। नेपाली समर्थकको रंगशालामा बाक्लो उपस्थीति थियो।
आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै रिजरभ डे राखिएको छ। त्यसैले आज खेल हुन नसक्ने अवस्थापछि दुबै टोलीले १–१ अंक बाँडेका हुन्।
नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। उता श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग २ विकेटले पराजित भएको थियो।
नेपालले अव सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग शनिबार र सोमबार बंगलादेशसँग खेल्ने। समूह डी बाट शीर्ष दुईमा रहँदै सुपर–८ मा पुग्न बाँकी दुबै खेल जित्नुपर्ने हुन्छ। समूह डी मा दक्षिण अफ्रिका सुरुवाती ३ खेलमा ६ अंकका साथ सुपर ८ मा पुगी सकेको छ।
बंगलादेश र नेदरल्यान्ड्सको समान २ खेलमा १ मा जित र १ मा हारसहित २–२ अंक छ। नेटरनरेटका कारण बंगलादेश दोस्रो र नेदरल्यान्ड्स तेस्रो स्थानमा छन्। नेपाल २ खेलमा १ अंकका साथ चौथो स्थानमा छन्। श्रीलंका ३ खेलमा १ अंकका साथ पुछारमा छ।


