काठमाडौँ- आईसीसी टी–२० विश्वकपमा शनिबार नेपालले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाको सामना गर्दैछ। खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
उक्त खेल किङ्सटाउनस्थित १८ हजार दर्शक क्षमताको आर्नोस भेल स्टेडियममा नेपाली समय अनुसार बिहान ०५ः१५ बजे सुरु हुनेछ।
नेपाल र दक्षिण अफ्रिका समूह ‘डी’ मा छन्। बङ्गलादेश, नेदरल्यान्ड्स र श्रीलङ्का पनि यही समूहमा रहेका छन्। यो खेलमा नेपाल ‘गर या मर’ को स्थितिमा छ। प्रतियोगिताको ‘सुपर–८’ चरणमा पुग्ने सम्भावना जीवित राख्न यो खेलमा नेपालसँग दक्षिण अफ्रिकालाई हराउनुको विकल्प छैन।
नेपालका लागि दक्षिण अफ्रिका बलियो प्रतिद्वन्द्वी हो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा दक्षिण अफ्रिका सातौँ स्थानमा छ। नेपाल भने वरीयताको १७औँ स्थानमा आसीन छ।
दक्षिण अफ्रिका अघिल्लो संस्करणमा गरेको प्रदर्शनका आधारमा सिधै नवौँ संस्करणमा सहभागी भएको हो। नेपाल भने एसियाली क्षेत्रबाट छनोट चरण पार गर्दै विश्वकपमा सहभागी भएको हो। टी–२० विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो।
यसअघि नेपालले सन् २०१४ मा सम्पन्न टी–२० विश्वकप खेलेको थियो। त्यतिबेला नेपाली टोली प्रारम्भिक चरणबाटै बाहिरिएको थियो। त्यतिबेला नेपालले समूहगत चरणमा तीनमध्ये दुई खेलमा जित हात पारेको थियो।
टी–२० विश्वकपमा दक्षिण अफ्रिकाको यो नवौँ सहभागिता हो। दक्षिण अफ्रिकाले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ। तर, दक्षिण अफ्रिका हालसम्म विश्वकपको फाइनलसम्म पनि पुग्न सकेको छैन।
यसअघि दुई पटक दक्षिण अफ्रिका विश्वकपको सेमिफाइनलमा पुगेको छ। दक्षिण अफ्रिका सन् २००९ को सेमिफाइनलमा पाकिस्तानसँग सात रनले पराजित भएको थियो। त्यसपछि सन् २०१४ को सेमिफाइनलमा दक्षिण अफ्रिकालाई भारतले ६ विकेटले हराएको थियो।
