काठमाडौँ- आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग भएको सरकारको वार्ता निष्कर्षविहीन बनेको छ।
‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’को माग राखी आन्दोलनरत पुनलागायतसँग आइतबार भएको वार्ता निष्कर्षविहीन बनेको हो। यद्यपि वार्ता सकारात्मक भएको दाबी गरिएको छ।
सोमबार पुनः पुनसँग वार्ता हुने बताइएको छ। पुनसँग वार्ता गर्न प्रधानमन्त्री प्रचण्डले उपप्रधान एवम् रक्षामन्त्री तथा कानुनमन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा समिति बनाएका छन्। समितिमा मुख्यसचिव शंकरदास वैरागीलगायत सरकारी अधिकारी छन्।
पुन नेतृत्वको टोलीले वैशाख १४ गतेदेखि आन्दोलन सुरु गरेको छ। आन्दोलनलाई विभिन्न राजनीतिक दलका नेता र डा गोविन्द केसीलगायतका अभियन्ताले ऐक्यबद्धता जनाउँदै आएका छन्।
