काठमाडौँ- काठमाडौँ महानगरले कवाड व्यवसायीको टहरामा डोजर चलाएको भन्दै कवाडी व्यवसायीहरुले महानगरका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध फेरि प्रदर्शन गरेका छन्।
कवाड व्यवसायीका पक्षमा अदालतले आदेश जारी गरेपनि महानगरले कार्यान्वयन नगरेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।
केही समय अघिदेखि काठमाडौँ महानगरको निर्णयविरुद्ध महानगरभित्रका कवाडी संकलकले विरोध प्रदर्शन गर्दै आएका छन्।
काठमाडौंको माईतिघर मण्डलाबाट सुरु भएको र्याली नयाँबानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो।
र्यालीमा सहभागीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध चर्को नाराबाजी गरेका थिए।
‘बालेन चोर, कुर्सी छोड’, ‘हामी यहाँ छौं, बालेन तिमि कहाँ छौं’, ‘कबाड व्यवसायीलाई सुरक्षा दे’ लगायतका नारा उनीहरुले लगाएका छन्।
यस्तै प्रदर्शनमा ‘छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गर’ जस्ता नाराहरु आन्दोलनकारीले लगाएका छन्।
काठमाडौं महानगरपालिकाले अदालतको आदेश विपरीत तोडफोडमा उत्रिएपछि कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं उपत्यकाभित्र कबाड व्यवसायीहरुको सुरक्षा, समृद्धि र सम्मानका लागि बाध्य भएर आन्दोलनमा उत्रिएको कबाड व्यवसायीका नेता संजय साहले बताए।
आफूहरुको माग सम्बोधन नभए माईतिघरमा धर्ना एवं प्रदर्शन मात्रै नभई कवाड व्यवसायीहरुले ४ असारमा काठमाडौं महानगरपालिका समेत घेराउ गर्ने जनाएका छन्।


















