काठमाडौँ- काठमाडौँको मुख्यबजार असनचोकबाट बाङ्गेमुढातिर लाग्दा हार्मोनियमको आवास नसुन्ने सायदै भेटिएलान्। तर उक्त गल्लीमा हतपत कोही छिर्दैनन्। पुरानो र साँघुरो घरको पहिलो तल्लामा भेटिन्छ हरेराम म्युजिक सेन्टर। हरेराम शाह अर्थात् हार्मोनियम मिस्त्री, नेपाली संगीत जगतमा यो नाम सुपरिचत हो।
बुबा थाकाराम शाहका ५ छोरामध्येको जेठा हुन् हरेराम। उनले जेजति सिके, आफ्नो बुबासँगै सिके। उनी बुबासँग १५ वर्षकै उमेरमा हार्मोनियम बनाउन नेपालका विभिन्न जिल्ला चहारे।
पछि २०३४/३५ सालतिर मात्र असनको न्हैकंनतलाको घरमा डेरा गरी हार्मोनियम मर्मत गर्न थालेका हुन् हरेरामले। त्यसयता उनी हार्मोनियम मर्मतमा निरन्तर छन्।
हरेराम शाह उमेरले ६ दशक काटिसकेका छन्। प्रत्येक दिन आफ्नो म्युजिक सेन्टरमा हार्मोनियम मर्मत गर्न व्यस्त देखिन्छन्। पुर्ख्यौली पेसा भएर होला, जोस र जाँगरमा अलिकति पनि कमी आएको छैन। तर आँखालाई भने चस्मा नभई नहुने भएको छ।
उनी कुशल हार्मोनियम मिस्त्री मात्र भने होइनन्, उतिकै कुशल हार्मोनियमवादक पनि हुन्। १६–१७ वर्षकै उमेरमा गायक एवम् संगीतकार फत्तेमान राजभण्डारीले रुचाएका उनलाई नेपाली संगीतका महान् हस्ती अम्बर गुरुङले हार्मोनियमका ताल सिकाएका थिए। गुरुङले वाद्यवादक टिममा पनि उनलाई समावेश गरे।
हार्मोनियम बजाएरै पाकिस्तानी गजलसम्राट गुलाम अलीदेखि नेपालका महान् सांगीतिक हस्तीहरुलाई प्रभावित तुल्याएका हरेराम आफ्नो कार्यशालामा हार्मोनियम मर्मत गर्न आउने जोकोहीसँग पनि मिठो बोल्छन्। संगीतसाधनामा प्रेरित गर्छन्।
दुई छोरा र एक छोरीका पिता हरेरामले तीनै सन्तानलाई डाक्टर बनाएका छन्। श्रीमती सुनैना शाह र दुई छोराले पनि हार्मोनियम मर्मत गर्ने भएकोले हरेरामलाई पुर्ख्यौली पेसा हस्तान्तरण गर्न पाएकोमा खुशी लागेको छ।
‘पुर्ख्यौली पेसा सन्ततिलाई हस्तान्तरण नगरे त लोप भइहाल्छ नि!,’ हरेरामले भने। हरेरामले अहिले भने १७ वर्षीय चन्दन झा र इन्द्रजीत शाहलाई हार्मोनियम मर्मतको तालिम दिइरहेको छन्।


















