काठमाडौँ- ‘भ्रष्टाचारविरोधी अभियन्ता हौँ’ भन्दै धम्काएर रकम असुल्ने ४ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
टोलीले काठमाडौँ गोकर्णेश्वर बस्ने राजु सुनार, आदर्श क्षेत्री, अस्मिता खत्री र प्रेमप्रसाद श्रेष्ठलाई पक्राउ गरेको हो।
‘बेथिति एवम् भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामक संस्था खोलेर त्यसको शाखा गोकर्णेश्वर नगरपालिकाका वडामासमेत विस्तार गरेका थिए ।
सरकारी कार्यालय, पालिका, विद्यालय, सङ्घसंस्था, कम्पनी, टोल सुधार संस्थालगायतमा गएर ‘तिमीहरूको विरुद्धमा भ्रष्टाचार र घुसखोरीको उजुरी परेको छ, हामीले अनुसन्धान गर्ने हो’ भन्दै रकम असुली माग्ने गरेको प्रहरीले जनाएको छ।
आफूहरूले भनेअनुसारको रकम नदिएमा छानबिन गरेर मुद्दा हालिदिने धम्की पनि उनीहरूले दिँदै आएका थिए।
यस्तै विभिन्न व्यक्तिको भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्दै हैरानी दिने कामसमेत गरेकाले चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।


