काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इन्डिजमा भएका खेलमा ब्याटिङ र फिल्डिङमा कमजोरी भएको स्वीकार गरेका छन्। मैदान नै बलिङमैत्री नरहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्नेसमेत बताए।
बिहीबार टी-२० विश्वकपमा सहभागी भई स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्। ‘हामीमा एक्सपेरियन्सभन्दा त्यहाँको सर्फेस नै ब्याटिङका लागि च्यालेन्जिङ थियो’, रोहितले भने।
टिममा आत्मविश्वास भएपनि मैदानको स्थितिले जित हात पार्न नसकिएको उनको तर्क थियो। ‘पहिलो गेममा पनि टिममा पूरै आत्मविश्वास थियो। तर मैदानको स्थितिले राम्रो नतिजा आउन सकेन। अमेरिकाको पिच तपाईँले देख्नु नै भएको छ, कसैको राम्रो स्कोर बन्न सकेको थिएन,’ उनले भने।
कप्तान रोहितकुमार पौडेलले नेपालले बलिङमा भने उत्कृष्ट प्रदर्शन गरेको सुनाए। उनले फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाए।
‘हामीले बेस्ट १५ खेलाडी लिएर गएका थियौँ। ब्याट्सम्यानलाई च्यालेन्ज थियो। ब्याट्सम्यानलाई मात्रै दोष दिएर हुँदैन। बलरलाई राम्रो ठाउँ थियो, त्यही अनुसारको नतिजा पनि यो विश्वकपमा आइरहेको छ। फिल्डिङ पनि केही कमजोरी थियो, त्यसमा हामी सुधार गरेर जानेछौँ। ब्याटिङमा पनि सुधार गर्न जरुरी छ,’ उनले भने।
