काठमाडौँ- आईसीसी टी–२० विश्वकप क्रिकेटको शनिबार राति खेलिएको ‘सुपर–८’ चरणको खेलमा भारतले बंगलादेशलाई जितका लागि एक सय ९७ रनको लक्ष्य दिएको छ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९६ रन बनाएको हो। हार्दिक पाण्ड्या ५० रनमा अविजित रहे। उनले २७ बलमा तीन छक्का र चार चौका हिर्काए।
ओपनर विराट कोहलीले पनि ३७ रन बनाए। विराटले २८ बलको सामना गरी तीन छक्का र एक चौका हिर्काए। कप्तान रोहित शर्माले पनि टोलीको खातामा २३ रन थपे। ओपनर रोहितले केवल ११ बलमा एक छक्का र तीन चौका पनि प्रहार गरे।
ओपनरको भूमिकामा ओर्लिएका विराट र रोहितले ३९ रनको साझेदारी गरेका थिए। तेस्रो नम्बरमा क्रिज समाल्न आएका ऋषभ पन्तले पनि टोलीको खातामा ३६ रन थपेका थिए। विकेटकिपर ब्याट्सम्यान ऋषभले २४ बलको सामना गरी दुई छक्का र चार चौका हिर्काए। चौथो नम्बरका ब्याट्सम्यान सूर्यकुमार यादब भने ६ रन बनाउँदै पेभेलियन फर्किएका थिए।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका शिवम् दुबेले ३४ रन बनाए। उनले २४ बलको सामना गरी तीन छक्का पनि हिर्काए। बंगलादेशका बलर तान्जिम हसन सकिबले दुई विकेट लिए। रिसाद होसैनले पनि दुई विकेट हात पारे। सकिब अह हसनले पनि एक–एक विकेट लिए।
भारत र बंगलादेश ‘सुपर–८’ चरणको ‘समूह–१’ मा छन्। आफ्नो पहिलो खेलमा विजयी भएका अस्ट्रेलिया र भारत क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। आफ्नो पहिलो खेलमा पराजित भएका अफगानिस्तान र बंगलादेश क्रमशः तेस्रो र चौथो स्थानमा छन्। शनिबार रातिको खेलमा पराजित भए बंगलादेशको सेमिफाइनलमा पुग्ने सपना लगभग समाप्त हुनेछ।


