काठमाडौँ- एसीसी प्रिमियर कपको फाइनल खेल चलिरहेको त्रिवि क्रिकेट मैदानमा साढे ११ बजेदेखि सुरु भएको वर्षा चार बजेसम्म पनि रोकिएन। २८औँ ओभरको खेल चलिरहँदा सुरु भएको वर्षा नरोकिएपछि नेपाल र युएईबीचको फाइनल खेल सोमबारका लागि स्थगित भएको छ।
प्रतियोगिता मंगलाबारका लागि सारिएको छ। सोमबार २७.३ ओभर बलिङ गरेको नेपालले मंगलबार खेल सुरु भएपछि २७.४ ओभरबाट बलिङ सुरु गर्नेछ।
उसै पनि प्रतियोगितामा नेपाललाई खेल रोकिँदा फाइदै भइरहेको छ। मूलपानीमा वर्षाका कारण साउदी अरेबियाविरुद्धको खेल रोकिँदा नेपाल सेमिफाइनल प्रवेश गरेको थियो। कुवेतविरुद्ध भएको सेमिफाइनल खेल पनि वर्षाकै कारण रोकिँदा समूह विजेता भएका कारण नेपाल फाइनल प्रवेश गरेको थियो। तर सोमबारका लागि तय भएको फाइनल खेल पनि वर्षाकै कारण २७.३ ओभरमा रोकिएको अवस्था छ। बाँकी खेल मंगलबार हुने बताइएको छ।
बिहान खेल सुरु हुने समयमै त्रिवि मैदान आसपासमा सिमसिम पानी पर्न सुरु भइसकेको थियो। त्यो क्रम बढ्दै गएपछि १६ ओभरको खेल सकिएपछि खेल २५ मिनेट रोकिएको थियो। पौने १२ जबेपछि त दिनभर नै खेल रोकियो।

पानी परेपछि छाता ओढेका दर्शक र पालले ढाकिएको पिच तथा आउटफिल्ड।
खेल हेर्न पुगेका दर्शक अव्यवस्थित प्यारापिटमा घण्टौँ उभिइरहे। १० हजारभन्दा धेरैको संख्यामा उपस्थित भएका समर्थक खेल हुने आशाले २ बजेसम्म बसेका थिए। दुई बजेपछि भने अलिअलि गर्दै समर्थक बाहिरिन लागे।
प्रिमियर कपको फाइनल जितेर एसिया कपमा पुगेको खुसीयाली मनाउने आशाले मैदान पुगेका समर्थक दुःखी हुँदै बाहिरिए। मंगलबार मात्र युएईले २७ ओभरपछिको ब्याटिङ गर्नेछ।
मंगलबार वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। तर सो दिनभर वर्षा भए पनि नेपाललाई घाटा भने छैन। एकदिवसीय वरीयतामा अघि रहेको कारण मंगलबार खेल सञ्चालन हुन नसके नेपाललाई विजेता घोषणा गरिने एसीसीले जानकारी दिएको छ।
तर खेल सञ्चालन भयो र सुपर ओभरमा गयो भने नतिजा जस्तो पनि आउन सक्ने सम्भावना छ। यता मंगलबार घाम लागेर पूरा खेल सञ्चालन हुन पाएको अवस्थामा भने नेपालले थोरै लक्ष्य पाउने अनुमान गरिएको थियो। यूएईको ९ विकेट त गइसकेको छ। त्यसैले नेपाल अहिले प्रतियोगितामा जितको नजिक छ।

युएईका खेलाडी मोहम्मद वसीम र आयन लाक्रा।
प्रतियोगिताको उपाधि जितेको अवस्थामा नेपाल एसिया कपमा पुग्नेछ। त्यहाँ भारत र पाकिस्तानको समूहमा नेपाल पर्नेछ। नेपाली सिनियर टिमले अहिलेसम्म पनि भारत र पाकिस्तानसँग खेल्न पाएको छैन। त्यसैले आगामी वर्ष एसिया कप खेल्ने कुरालाई निकै महत्वका साथ हेरिएको छ।
सोमबारै एसिया हुने वा नहुनेमा नै शंका पनि पैदा भएको छ। भारतले पाँच देशीय प्रतियोगिता आयोजना गरेको अवस्थामा पाकिस्तानले एसिया कप आयोजना नगर्ने भएको छ। उसले आज बिहान त्यस्तो सूचना जारी गरेको हो।
भारत र पाकिस्तानबीचको आन्तरिक राजनीतिक कारणले भारतले पाकिस्तानमा गएर खेल्न नमानेपछि एसिया कप नहुने सम्भावना बढेको हो। भारतले यसअघि पाकिस्तानमा नखेल्ने भए भारतको खेल युएईमा गराउने तयारी गरेको थियो।
तर त्यसको लागि पनि भारत राजी भएको छैन। अतः एसिया कप नहुनेमा शंका बढ्दै गएको हो। एसीसीको गत महिना भएको बैठकमा पाकिस्तान क्रिकेटका अध्यक्ष नजम सेथीले यो हाइब्रिड मोडेलको बारेमा बैठकलाई जानकारी गराएका थिए।
बिसीसीआईका सचिवसमेत रहेका जय शाह यसबारेमा उत्साही देखिए पनि पछि उनी यसको विरोध गरेका थिए। दुई हप्ता अघि प्रतियोगिताबारेको कुराकानीमा उनले बाँकी टिमहरुको पनि कुरा बुझेर अघि बढ्ने बताएका छन्।
यता हाइब्रिड मोडलमा नै पाकिस्तान दृढ रहने हो भने यो वर्ष एसिया कप हुन मुस्किल छ। यस्तोमा लामो समयदेखि यस्तो ठूलो प्रतियोगिताको पखाईमा रहेको नेपाललाई भने दुखद् हुनेछ। यदि नेपाल प्रिमियर कपबाट छनोट हुन्छ भने पनि। नेपालमा सोमपाल कामी, रोहित पौडेल, अर्जुन साउँद, करण केसीलगायतका धेरै त्यस्ता खेलाडी छन् जो भारतबाटै खेल सिकेर आएका हुन्।
नेपाल र भारतको क्रिकेट धेरै नजिक भए पनि यी दुईबीचको खेल अहिलेसम्म सम्भव भएको छैन। नेपाल सहभागी नभएको हरेक ठूला क्रिकेट प्रतियोगितामा धेरै समर्थकले भारतको समर्थक गर्दै आइरहेका छन्। यस्तोमा धेरै नेपाली समर्थक भारतसँगको खेल हेर्नको लागि आतुर छन्।
एसिया कपको अन्योलका कारण नेपालले भारत र पाकिस्तानजस्ता देशसँग खेल्ने आशंकालाई अझै बढावा दिएको छ। यदि पाकिस्तानले एसिया कप आयोजना गरेन र भारतमा पाँच देशीय प्रतियोगिता भयो भने त्यसमा नेपाल सम्मिलित हुन्छ वा हुँदैन भन्ने पनि स्पष्ट छैन। यद्यपि बंगलादेश, श्रीलंका, भारत, अफगानिस्तान र नेपाल सहभागी हुने आशा गरिएको छ। आधिकारिक रूपमा यस्तो सूचना अहिलेसम्म आइसकेको छैन।


