काठमाडौँ- भारत आईसीसी टी–२० विश्वकपको फाइनलमा पुगेको छ। गए राति भएको सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो।
१० वर्षपछि भारतीय टोली टी–२० विश्वकपको फाइनलमा पुगेको हो। गुयानाको प्रोभिडेन्स स्टेडियममा इङ्ल्यान्डका कप्तान जोस बटलरले टस जितेर बलिङ रोजेका थिए।
रोहित शर्माको अर्धशतकको मद्दतमा पहिले ब्याटिङ गरेको टीम इण्डियाले इंग्ल्याण्डलाई १७२ रनको लक्ष्य दिएको थियो।
सो लक्ष्य पछ्याउने क्रममा इंग्लिस टोली १६.४ ओभरमा १०३ रन बनाउँदा अलआउट हुन पुग्यो।
भारतले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड खराब ब्याटिङ प्रदर्शन गर्दै १६.४ ओभरमा १ सय ३ रनमा समेटियो।
इङ्ल्यान्डका ओपनर जस बटलरले १५ बलमा ४ चौका सहित २३ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए। तर चौथो ओभरको पहिलो बलमा उनलाई अक्षर पटेलले आउट गरे। पाँचौं ओभरमा फिल साल्ट ५ रन बनाउँदा जसप्रित बुम्राहद्वारा बोल्ड आउट भए।
जोन्नी बेयरस्टो र मोइन अलीलाई पनि अक्षरले सस्तैमा पेभेलियनको बाटो देखाए। स्याम करन कुलदीप यादवको बलमा २ रन बनाएर आउट भए। त्यसपछि केही आशालाग्दो सुरुवात गरेका ह्यारी ब्रुक पनि १९ बलमा २५ रन बनाएर कुलदीपकै शिकार बने।
क्रिस जोर्डन १, लियम लिभिङस्टोन ११ र आदील रशिद २ रन बनाएर पेभेलियन फर्किए। जोफ्रा आर्चरले अन्तिम तिर केही विष्फोटक ब्याटिङ गर्ने प्रयत्न गरेपनि बुम्राहको बलमा आउट भए। उनले १४ बलमा २१ रन बनाएका थिए।
भारतका लागि अक्षर पटेल र कुलदीप यादवले समान ३ विकेट लिए। जसप्रित बुम्राहले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १ सय ७१ रनको योगफल खडा गरेको थियो। भारतका ओपनर तथा कप्तान रोहित शर्माले ३९ बलमा ५७ रन प्रहार गर्दै राम्रो सुरुवात दिलाएका थिए । उनले ६ चौका र २ छक्का प्रहार गरे।
यस्तै सूर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का सहित ४७ रन जोडे। हार्दिक पन्ड्याले १३ बलमा २७ रन बनाए भए रविन्द्र जडेजा ९ बलमा १७ रनमा नटआउट रहे। अक्षर पटेल १० रनमा अविजित रहे।
इङ्ल्यान्डका लागि क्रिस जोर्डनले ३ विकेट लिएका थिए। रिस टोप्ली, जोफ्रा आर्चर, स्याम करन र आदिल रशिदले समान १ विकेट लिएका थिए।
भारतले फाइनलमा दक्षिण अफ्रिकासँग आइतबार प्रतिस्पर्धा गर्नेछ। दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउदै फाइनलको यात्रा तय गरेको हो।


