चितवन- धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण कार्य पूरा नगरी अलपत्र अवस्थामा भरतपुर महानगरपालिकालाई जिम्मा लगाएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम पूरा गर्न हिमालयन कालिञ्चोक बीबीआर जेभी छनोट भएको छ।
भरतपुर महानगरपालिकाले शुक्रबार कम्पनीको नाममा सातदिने आशयपत्र जारी गर्दै रंगशाला निर्माण गर्न उक्त कम्पनी छानिएको जानकारी दिएको हो।
टेन्डर हालेको हिमालयन कालिन्चोक बीबीआर जेभीको नाममा आशयपत्र जारी गरिएको भरतपुर महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले जानकारी दिए।
सात दिनको अवधिभित्र कुनै उजुरी नपरे आठौँ दिनमा निर्माण सम्झौता हुने महानगरको भनाइ छ। २६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कम्पनीसँग सम्झौता गर्ने तयारी छ।
रंगशालाको बाँकी काम पूरा गर्न भ्याट र पीएसबाहेक ६८ करोड २ लाख ६४ हजार २ सय ७ रुपैयाँ ८४ पैसा लाग्ने अुनमान गरिएको छ।

रंगशालाको डिजाइन।
रंगशालाको काम पूरा गर्न १२ कम्पनीले इच्छा व्यक्त गरेका थिए। रंगशाला निर्माणका लागि डाँफे, खानीखोला, रविना कालीगण्डकी जेभी, ओम साइराम, प्रेरा, गौरीपार्वती, यामे, सगुन कन्ष्ट्रक्सन, खानी निर्माण, हनुमान, रोसन कन्ट्रक्सन, लामा डाइनामिकजेभीले टेन्डर हालेका थिए।
फागुन १७ गते ३० दिनको अवधि दिएर आह्वान गरिएको टेन्डर विवादित भएपछि रद्द गरी जेठ ३ गते पुनः टेन्डर आह्वान गरेको थियो। पहिलोपटक टेन्डर आह्वान गर्दा एमए कन्स्ट्रक्सन प्रालिले मात्रै ठेक्का हालेको थियो। महानगरले १ अर्ब १० करोडको ठेक्का आह्वान गरेको हो।
रंगशालाका लागि बागमती प्रदेश सरकारले ५२ करोड ५० लाख रकम दिने निर्णय गत माघ २३ गते गरिसकेको छ।
संघीय मन्त्रिपरिषद्को गत कात्तिक २३ गते बसेको बैठकले गौतम बुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको परियोजनाभित्र समेटेर बाँकी काम तीनै तहका सरकारहरू मिलेर पूरा गर्ने निर्णय गरेको थियो। सरकारको नीति तथा कार्यक्रममा पनि रंगशाला निर्माणलाई प्राथमिकतामा राखिएको छ।
धुर्मस सुन्तली फाउन्डेसनले बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्ण रूपमा काम रोकेको थियो। रंगशालाको काम ३९ प्रतिशत भएपछि बजेट अभावलाई कारण देखाउँदै अलपत्र अवस्थामा नै भरतपुर महानगरलाई हस्तान्तरण गरेको थियो।
रंगशाला निर्माण थालेको फान्डेसनले रंगशालामा ३० हजार दर्शक क्षमताको प्यारापिट बनाउने योजना बनाएको थियो। उसले प्यारापिटका लागि २८६ पिलर उभ्याएको छ। ५ हजार जना बस्न मिल्ने प्याराफिट तयार पनि गरिसकेको छ।
मैदानमा ५ वटा पिच र २ वटा ३-३ तलाको टावर बनाइनेछ। भीआइपी र खेलाडीका लागि एउटा र अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्स राख्न मिल्ने गरी बनाउने तयारी छ।


