मैले कक्षा ६ देखि भक्तपुरको आदर्श बहुउद्देश्यीय स्कुलमा पढेँ।
त्यो स्कुलमा व्यावसायिकतर्फ चारवटा विषय थिए। सबै विद्यार्थीले आफ्नो रुचिअनुसार एउटा विषय छान्नुपर्थ्यो।
‘इन्डस्ट्रियल साइन्स’मा काठ काटेर विभिन्न सामान बनाउने सीप सिकाइन्थ्यो। अर्को थियो, ‘होम साइन्स। खानेकुरा पकाउन, लुगा सिलाउन, बगैचा स्याहार्न सिकाउने यो विषय धेरैजसो केटीहरूले लिन्थे। ‘कृषि’ मा खेतीपातीसम्बन्धी पढाइ हुन्थ्यो। चौथो विषय थियो, ‘सेक्रेटेरियल साइन्स’। यसमा टाइपराइटर चलाउन र व्यापारका सानातिना प्रयोगात्मक अभ्यास गर्न लगाइन्थ्यो। मैले यही विषय लिए।
हामीलाई ‘सेक्रेटेरियल साइन्स’ पढाउने मिस हुनुहुन्थ्यो, जाल्पा प्रधान। एकदिन उहाँले कक्षामा आएर भन्नुभयो, ‘म एउटा समूह बनाइदिन्छु। अलिकति पैसा जम्मा गर, स्कुलमा सानो पसल थाप।’
हामी वाल्ल पर्यौँ।
‘दुईचार कुरा सिक्न पाउँछौ, एकदुई पैसा बचत हुन्छ,’ उहाँले सोध्नुभयो, ‘समूहको नेतृत्व कल्ले गर्छ?’
कक्षा अचानक जाँच दिनुपरेजस्तो सामसुम भयो। मैले फ्याट्ट हात उठाएँ।
हामीले पसल थाप्न भनेर घरबाट पैसा माग्न पाउँदैनथ्यौँ। टिफिनबाट दिएको पैसा जम्मा गरौँ भने त्यो पनि थिएन। स्कुलमै खुवाउँथ्यो। समस्या पर्यो। मैले उपाय सोचेँ, अबदेखि चना चट्पट, बम्बइया लड्डु सबै बन्द। घरबाट पैसा लिने, खर्च भने नगर्ने। केही नभए पनि दिनको एक मोहर, एक रुपैयाँ बच्थ्यो।
साथीहरूले मेरो प्रस्ताव माने।
‘पैसा बचाऊ’ अभियान सुरु भयो। म दिनहुँ साथीहरुसँग पैसा उठाउने, घर लगेर खुत्रुकेमा खसाल्ने। पहेँलो रङको माटोको खुत्रुकेमा मैले रातो साइनपेनले किरिडमिरिङ अक्षरमा लेखेको थिएँ- ‘स्कूल प्रोजेक्ट’। कस्ले कति पैसा दियो भन्ने हिसाब राख्न सबै मिलेर एउटा कापी किनेका थियौँ। हिसाब लेख्ने काम सबैका आँखा सामुन्ने हुन्थ्यो।
महिना दिनपछि हामीले खुत्रुके फोड्यौँ। डेढ सय रुपैयाँ चानचुन जम्मा भएछ।
मिसले भन्नुभएको थियो, ‘स्कुलमा के चिज बढी बिक्छ, त्यही राख्नू।’
हामीले पिपलमेड पाउँ, रंगीविरंगी इरेजर, थरीथरीका सार्पनर र यस्तै केही खित्रीमित्रीहरू ल्यायौँ।
हामी हाफटाइममा छिटछिटो खाजा खाएर कक्षाका डेस्क-बेन्च घिसार्दै चौरमा ल्याउँथ्यौ। झोलामा बोकेर ल्याएको दोकान डेस्कमाथि सजाउँथ्यौँ।
सुरुमा त स्कुलका अरू विद्यार्थी हेरेका हेरै भए। कोही सोध्न पनि आए, ‘के रमिता हो’ भनेर। हामीले ‘प्रोजेक्ट वर्क’ भन्यौँ। सुनेर उनीहरू खासखुस गर्ने। अनि गोजी छाम्थे। हामीले सामान नै त्यस्तै छानेका थियौँ मन भुलाउने, आँखा लोभ्याउने। हाफटाइमको आधाघन्टे छुट्टीमा जति हुन्छ बेचेर हामी आफ्नो दोकानलाई फेरि त्यही झोलामा पोका पार्थ्यौँ।
अन्तिम घन्टीपछि दिनभरिको हिसाब जाल्पा मिसलाई देखाउनुपर्ने थियो। कुन चिज कतिमा किनेको, कतिमा बेचेको, कति नाफा भयो सब त्यही म्याथ कापीका चारपाटे कोठाहरूमा लेखेर बुझाउनुपर्थ्यो।
व्यापारमा त्यो मेरो चञ्चुप्रवेश थियो। आज ४५ वर्षपछि मैले गर्ने कारोबार सैद्धान्तिक रूपमा त्यो भन्दा फरक छैन। सानो-ठूलोको कुरा मात्र हो।
बहुद्देश्यीय हाइस्कुलको त्यो सिकाइले मभित्र अर्धचेतन अवस्थामा रहेको व्यापारिक सोच र व्यवहारलाई जगाइदिने काम गर्यो भन्ने लाग्छ। बचत परिचालन, पुँजी निर्माण, बजारको माग बने, खरिद विकीबीच मार्जिन राख्ने यस्ता आधारभूत व्यापारिक सीप मैले त्यहाँ स्कुलको आधाघन्टे पसलबाट सिकेँ।
विद्यार्थीलाई परीक्षाको दौडमा सामेल गराउनेभन्दा ज्ञान दिनेगरी पढाउने त्यो स्कुलले मेरो जीवनमा एक सय असी डिग्रीको परिवर्तन ल्याइदियो। म त्यहाँको शैक्षिक वातावरणमा रमाएँ।
मैले एसएलसीसम्म त्यहाँ पढेँ। र, त्यहीँबाट २०२८ सालको एसएलसीमा बोर्ड पाँचौँ भएँ।
हाम्रो स्कुलबाट अरू दुई जना साथी पनि बोर्डमा आएका थिए। छैटौँ स्थानमा विश्वम्भर चित्रकार र सातौँमा कृष्णबहादुर नापित।
मेरो जिन्दगीको पहिलो र सबैभन्दा महत्त्वपूर्ण ‘टर्निङ प्वाइन्ट’ त्यही स्कुलको वातावरण हो। त्यहाँ पाएजत्तिको शिक्षा त्यसपछिको कुनै पढाइले दिएन।
आज तपाइँहरुको रिजल्ट जस्तो आएपनि जिन्दगी एकदम लामो छ। स्कुलमा सिकेको कुरा रिजल्ट भन्दा धेरै काम लाग्नेछन्। अगाडि बढ्नुहोला। हार्दिक शुभकामना।
-चौधरीको एक्स (ट्विटर)पोस्टबाट



