काठमाडौँ- प्रतिनिधि सभा सदस्यसमेत रहेका पूर्वमन्त्री मोहन बस्नेतले आफूलाई टेरामक्समा अनावश्यक रूपमा मुछ्न खोजिएको टिप्पणी गरेका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
यस्तो छ बस्नेतले प्रतिनिधि सभामा दिएको प्रस्टीकरण
मलाई पनि टेरामक्सको कुरा लिएर बेलाबेला कुरा उठाउने गरिएको छ। एकदम कलिला-कलिला, ओठ निचोर्दा दूध आउनेदेखि लएर दाह्रीजुँघा फुलेकासम्म माननीयले यो कुरा उठाइरहनु भएको छ। उचित दिन आएछ भने म यसको जवाफ दिनेछु।
टेरामक्स एउटा यस्तो विधि हो, जसले टेलिफोनमा कल बाइपास गरेर खाने धन्दा नियन्त्रण गर्छ। संसारभर/विदेशमा यही विधिले कल बाइपास नियन्त्रण गरिन्छ। त्यहाँ ठगीधन्दा भएको छैन। नेपाल मात्र एउटा यस्तो देश हो जहाँ कल बाइपास गरेर वर्षको २५ अर्बभन्दा बढी घोटाला भइरहेको छ। यदि यो विधि (टेरामक्स) नै कल बाइपासलाई रोक्ने विधि होइन भने विधि के हो त?
मैले आँट गरेर यो विधि सुरु गर्न खोजेको हो। वर्षको २५ अर्ब घोटाला गर्नेले कति अर्ब खर्च गरेर राज्यका निकायलाई, सम्बन्धित निकायलाई डाइभर्ट गर्न खोजेको हो? यो भविष्यले बताउला। फेरि समय पाएको बेला टेरामक्सबारे कुरा गर्नेछु।
टेरामक्स नेपालका लागि अर्बौँ राजस्व जोगाउने यो एउटा मन्त्र हो। यो नभएसम्म कल बाइपास भइरहन्छ।


