काठमाडौं– महँगीले नागरिकको जीवनयापन कष्टकर भइरहेका बेला अबदेखि स्वास्थ्योपचार सेवा लिन पनि सास्ती हुने देखिएको छ। आगामी १ जेठदेखि नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) बैठक डाक्टरको परामर्श शुल्क बढोत्तरी गर्ने निर्णयमा पुगेको हो।
१८ चैत २०७९ मा बसेको नेपाल चिकित्सक संघ र अफिनको संयुक्त बैठकबाट राष्ट्र बैंकको मुद्रास्फीति दर तथा शुल्क निर्धारण समितिको सिफारिसलाई आधार मानी नयाँ परामर्श शुल्क तोकिएको भनिएको छ।
चिकित्सक संघ र अफिनले विज्ञप्ति जारी गर्दै चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० रुपैयाँसम्म शुल्क लिन पाउने गरी निर्णय भएको जनाएका छन्। आफूखुसी भाउ बढाएका दुई संस्थाले परामर्श शुल्क कार्यावन्यन गर्न चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पताललाई आग्रह गरेका छन्।
अबदेखि पाँच वर्ष अनुभव भएका एमबीबीएस र बीडीएस चिकित्सकले ४२० र त्यसभन्दा बढी अनुभव भएकाले ५१५ रुपैयाँ परामर्श शुल्क लिन पाउनेछन्। पाँच वर्ष अनुभवी डिप्लोमा चिकित्सकले ५९० र त्यसभन्दा बढी अनुभवीले ६७० शुल्क लिन पाउनेछन्।
यस्तै, पाँच वर्ष अनुभव भएका एमडी, एमएस र एमडीएस चिकित्सकले ७५० र त्यसभन्दा बढी अनुभव भएकाले ८०० रुपैयाँ शुल्क लिन पाउनेछन्। डीएम तथा एमसीएच गरी ५ वर्ष अनुभव भएकाले परामर्श शुल्कबापत ८८० रुपैयाँ लिन सक्नेछन्। डीएम तथा एमसीएच गरी ५ वर्षभन्दा बढी अनुभव भएका तथा एमडी एमएस, एमडीएस गरी १० वर्षभन्दा बढी अनुभव भएकाले ९४० रुपैयाँ परामर्श शुल्क लिन पाउनेछन्।
नेपाल चिकित्सक संघ र अफिनलाई चिकित्सकको परामर्श शुल्क बढाउने अधिकार भए पनि मन्त्रालयले सहमति नदिएको स्वास्थ्य मन्त्रालयका सचिव डा. रोन पोखरेलले बताए।


