काठमाडौँ- नेकपा एकीकृत समाजवादी महाधिवेशन थाल्नुअघि काठमाडौँमा र्याली निकालिएको छ। महाधिवेशनमा सहभागी हुन आइपुगेका प्रतिनिधि र सदस्यहरू भृकुटीमण्डपदेखि महाधिवेशन स्थल प्रज्ञा प्रतिष्ठानसम्म र्याली निकालिएको हो।
असार २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुनेछ।
एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको बताएका छन्।
महाधिवेशनमा १ हजार ८४९ प्रतिनिधिले भाग लिनेछन्। ती प्रतिनिधिले २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्नेछन्।
करिब तीन वर्षअघि गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रूपमा दाबी गरेको छ। एकीकृत समाजवादीले एमालेमा रहँदा सम्पन्न भएका ९ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको हो।





]










