काठमाडौं–धादिङको धुनीबेंसी नगरपालिका–६ स्थितपृथ्वी राजमार्ग गणेश खोलामा सोमबार गएको पहिरो पन्छाउन नेपाली सेना परिचालन गरिएको छ। पहिरोका कारण सोमबार अपराह्नदेखि पृथ्वी राजमार्ग अवरुद्ध भएपछि सडक खुलाउन तत्कालै सेना परिचालित भएको हो।
उक्त स्थानमा परिचालित सैनिक इञ्जिनियर टोलीले तत्कालै एक्रोब्रिज जडान गरिहाल्नुपर्ने अवस्था नभएको जानकारी गराएको छ। सडक विभागका कर्मचारी तथा धादिङस्थित गणबाट परिचालित फौजले रातभर करिब १० फिट तलबाट ग्यावियन वायर लगाई माटोढुंगा भर्ने कार्य गरिरहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए।
अवरुद्ध सडक खुलाउन आज बिहानैदेखि सेनाको थप फौज परिचालन भएको पनि उनले जानकारी दिए।


