काठमाडौँ- स्लोभाकिया विरुद्ध जित निकाल्दै युरो कप २०२४ मा इङ्ल्याण्ड क्वाटर फाइनल प्रवेश गरेको छ। जितको सम्मुखमा पुगिसकेको स्लोभाकिया विरुद्ध इङ्ल्याण्डले पुनरागमन जित हासिल गरेको हो।
२५ औँ मिनेटमा इभान स्क्रान्जले स्लोभाकियाका लागि सुरुवाती गोल गरेका थिए। डेविड स्ट्रेलेकको सुन्दर थ्रु(पासलाई नियन्त्रणमा लिँदै स्क्रान्जले टिमलाई अग्रता दिलाए।
स्लोभाकियाले उक्त अग्रता दोस्रो हाफको पनि इन्ज्युरी समयको पाँचौँ मिनेटसम्म कायम राख्यो। कुनै समय अब इङ्ल्याण्ड पराजित हुने देखिएको थियो। तर इन्ज्युरी समयको पाँच मिनेटमा इङलिस टोलीले बलिङ्घनको गोल मार्फत बराबरी गर्न सक्यो र खेल अतिरिक्त समयमा गयो।
अतिरिक्त समयको पहिलो मिनेटमानै ह्यारी केनले गोल गर्दै इङ्ल्याण्डलाई जित दिलाए। इङ्ल्यान्डले अब क्वाटरफाइनलमा स्विट्जरल्यान्ड विरुद्ध खेल्नेछ।


