काठमाडौँ– नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्। मंगलबार बिहान ललितपुरबाट राई पक्राउ परेको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिएका छन्।
भूटानी शरणार्थीको प्रमाणीकरणका लागि सरकारले २०७६ वैशाखमा बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। हालसम्म सार्वजनिक नगरिएको प्रतिवेदनको अनुसूचीमा नाम थपेर अमेरिका पठाइदिने भन्दै राईसमेतको संलग्नता भएको गिरोहले झापा, मोरङ, सुनसरी, कास्की, बाग्लुङलगायतका जिल्लाका मानिसहरुबाट रकम असुली गरेको आरोप लागेको छ।
गिरोहमा संलग्न भएको आरोपमा दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल, सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परिसकेका छन्। दुलालले सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला निजी सचिवालयमा काम गरेको खुलेको छ।
भण्डारीसँग आफ्नो पुरानो चिनजान रहेको भन्दै तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीले स्विकारिसकेका छन्। ऊर्जामन्त्री रायमाझीकै सहयोगी भण्डारी थिए।
यही गिरोहमा संलग्न भएको आरोपमा इन्द्रजितका छोरा निरज राईविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। मंगलबार बिहान पक्राउ परेका राईसँगै छोरा निरजलाई पनि पक्राउ तयारी प्रहरीले गरेको थियो। तर निरज नभेटिएपछि पक्राउ पुर्जी जारी गरिएको ललितपुर प्रहरीले जानकारी दिएको छ।
यसअघि पक्राउ परेकाहरूले दिएको बयानका आधारमा राईका बाबुछोरा पनि अनसन्धानमा तानिएका थिए। निरज भागेको हुनसक्ने प्रहरीको अनुमान छ। इन्द्रजित भने सौखेलस्थित निवासबाटै पक्राउ परेका थिए।
प्रहरी परिसर टेकुमा राखिएका राईसमेतले विभिन्न चरणमा ५ करोड रुपैयाँभन्दा बढी रकम आफूहरूबाट लिएको पक्राउ परेकाहरूले बयान दिएपछि राई पक्राउ परेका हुन्।


