शुक्रबार राति करिब ४ बजे ठमेलस्थित नर्सिङ चोकमा रक्सीले टिल्ल एक समूह उत्साहित हुँदै एक क्लबबाट बाहिरियो। प्रहरीले भित्रै छिरेर क्लब बन्द गराएपछि उनीहरु थोरै आक्रोशित त थिए, तर त्यो भन्दा बढी खुशी। कारण, खाएको बिल तिर्न परेन। समुहका एक भन्दै थिए, ‘त्यो क्लबले पुलिसलाई पैसा खुवाएन, त्यही भएर हामीलाई निकाल्यो। केही छैन बिल तिर्न परेन, पैसा जोगियो। अब एलओडी जाऊ। त्यहाँ सात बजेसम्म खुल्लै हुन्छ।’
त्यसपछि उनीहरु विश्व चर्चित एलओडी क्लबतर्फ लम्किए। यथार्थ पनि त्यस्तै थियो, आसपासका अन्य क्लबहरु निर्बाध खुलिरहेका थिए, प्रहरीकै संरक्षणमा।
000
प्रहरी वृत्तमा ठमेल आकर्षक पोस्टिङ हो। डीएसपीहरु महानगरिय प्रहरी वृत्त सोह्रखुट्टेको नेतृत्वमा पुग्न शक्तिकेन्द्र धाउने यथार्थ प्रहरीभित्र ‘ओपन सेक्रेट’ नै हो। तर, यो आकर्षण पछाडीको कारण त्यहाँ पुगेपछि हुने आर्थिक उन्नती नै हो त?
०७८ जेठमा मात्रै उपत्यका प्रहरी कार्यालय रानीपोखेरीले प्रहरी वृत्त सोह्रखुट्टेका तत्कालीन डीएसपी दीपक खड्कामाथि ठमेलका बार, नाइट क्लबका व्यापारीहरुसँग पैसा असुलेको आरोपमा कारवाही गरेको थियो। त्यतिबेला उनीमाथि सेवाग्राहीसँग राम्रो व्यवहार नगरेको, प्रहरी आचरणविपरीत कार्य गरेको र आर्थिक सम्बन्धी गुनासो धेरै आएको आरोपमा उजुरीपछि प्रहरीले अनुसन्धान गर्न छानविन समिति नै बनाएको थियो। छानविन समितिमा ‘बदनियत’ देखिएपछि उनीमाथि कारवाही भएको थियो।
तर, ठमेलमा यसपछि अवस्था सुध्रियो त?
नेपाल क्लिक्सले गरेको एक साता लामो ठमेलको रिपोर्टिङमा खड्कालाई कारबाहीपछि आएका एक डीएसपी लामाे समय बसेनन्। अनि आए नयाँ डीएसपी गणेश बम। बम र उनी मातहतका प्रहरीसँग पनि व्यवसायीहरुको उस्तै गुनासो पाइयो। ‘महिनावारी’ बुझाउने क्लब, डान्सबारहरुलाई प्रहरीले नै संरक्षण दिएर बिहानको ६/७ बजेसम्म खोल्ने दिने तर नदिनेलाई विभिन्न बहानामा ४ बजे नै बन्द गराउने प्रहरीको नीतिका कारण रात्रिकालीन व्यवसायीहरु प्रहरीसँग आतंकित भएका छन्।
रात्रिकालीन व्यवसायीहरुले २४ घन्टा नै व्यवसाय गर्न पाउनुपर्ने माग राखिरहेपनि जिल्ला प्रशासन कार्यालयको पछिल्लो निर्णयअनुसार ठमेलमा डान्सबार र दोहोरीसाँझ २ बजे र क्लब/डिस्कोहरु ४ बजेसम्म खोल्न पाइने प्रावधान छ। तर, ठमेलमा यो नियम कार्यान्वयनमा छैन। केही क्लब/डिस्को र डान्सबारहरु बिहानसम्म निर्बाध खुलिरहेका छन् भने केही तीन-चार बज्नेबित्तिकै प्रहरीको निशानामा छन्।
‘महिनावारी दिने सिस्टम त २०–२५ वर्षअघि देखिकै हो, अहिलेको होइन। नदिने भन्ने नै होइन। पुलिस पनि केही नपाएसम्म आउँदैन। त्यसैले यो सिस्टम जस्तै भइसक्यो। खुशी पार्न अलि अलि त दिनैपर्छ।’
प्रहरीले ‘सेटिङ’का आधारमा यो विभेद गरिरहेको उनीहरुको दाबी छ। यद्यपि उनीहरु प्रहरीविरुद्ध खुलेर बोल्न चाहँदैनन्। ‘हामी त यहीँ व्यवसायी गरेर टिक्नुपर्छ, त्यसैले बोल्न मिल्दैन। नाम नखुलाइ लेख्दिनुहोला,’ अधिकांशको उस्तै स्वर थियो। ‘अहिले आर्थिक मन्दीका कारण ठमेलमा चहलपहल साह्रै कम छ,’ एक क्लब व्यवसायीले भने, ‘अरु दिन एक–दुई टेबल मान्छे पनि मुस्किलले आउँछन्। व्यापार हुने त्यही शुक्रबारको दिन हो। तर, त्यही दिन पनि पैसा नबुझाएका कारण प्रहरीको भ्यान बन्द गराउन आइपुग्छ। बिल पनि तिर्न नदिई ग्राहक खेदाइदिन्छ। यसरी त कसरी टिक्ने हामी,’ प्रहरीबाट पीडित एक क्लब व्यवसायीले भने।
यस्तो छ ‘महिनावारी मेन्यू’
ठमेलका रात्रिकालीन व्यवसायीहरुसँग सिपाहीदेखि डीएसपीसम्मलाई बुझाउनुपर्ने महिनावारीको ‘मेन्यू’ नै छ। मेन्यू अनुसार निर्वाध खोल्न दिएवापत क्लबहरुले डीएसपीलाई ५० हजार देखि १ लाख, डान्सबार र दोहोरी साँझहरुले २० देखि २५ हजार महिनावारी बुझाउनुपर्छ। सबैभन्दा चल्ती र ठूलो मानिएको एलओडी क्लबले भने दुइ लाख बुझाउनुपर्ने प्रहरी श्रोतको दाबी छ। त्यस्तै ठमेलमा कार्यरत रहने चार जना इन्सपेक्टरको पनि आफ्नै मेन्यू छ। जसअनुसार क्लबले १० हजार, डान्सबार र दोहोरीसाँझले ५ हजार बुझाउनुपर्छ। ‘ शुक्रबार आउनै भएन पुलिसलाई, दशैँ आएजस्तै हुन्छ। सिपाही–हवल्दारलाई भने शुक्रबारै पिच्छे ५ सय दिनुपर्छ। असई, सई र वरिष्ठ सईलाई ५ सयदेखि २५ सयसम्म बुझाउनुपर्छ,’ एक पुराना रात्रिकालीन व्यवसायीले भने।
इन्सपेक्टरसम्म मौका पारेर आफै पैसा लिन आउने तर डीएसपीका हकमा सिभिल ड्रेसमा विश्वासपात्र पठाउने गरेको उनले बताए। ‘कोही कोही डीएसपीलाई आफै पुर्याउन पनि चाहन्छन्,’ उनले भने।
ठमेल रात्रिकालीन व्यवसायी समितिका अध्यक्ष रुपेश गुरुङ प्रहरीलाई पैसा बुझाउनुपर्ने ठमेलको पुरानै सिस्टम रहेको स्वीकार्छन् तर अहिले पहिलेजस्तो दबाब नभएका कारण प्रहरी प्रशासनलाई दोष दिनुपर्ने अवस्था नभएको बताउँछन्।
ठमेलका रात्रिकालीन व्यवसायीहरुसँग सिपाहीदेखि डीएसपीसम्मलाई बुझाउनुपर्ने महिनावारीको ‘मेन्यू’ नै छ। मेन्यू अनुसार निर्वाध खोल्न दिएवापत क्लबहरुले डीएसपीलाई ५० हजार देखि १ लाख, डान्सबार र दोहोरी साँझहरुले २० देखि २५ हजार महिनावारी बुझाउनुपर्छ।
‘पहिलेचाँही जसको सेटिङ छ, उसले मात्रै खोल्न पाउँथ्यो। अहिले त सक्नेले ७ बजेसम्म पनि खोलिरहेका छन्,’ उनले भने, ‘महिनावारी दिने सिस्टम त २०–२५ वर्षअघि देखिकै हो, अहिलेको होइन। नदिने भन्ने नै हुँदैन। हाम्रो रात्रिकालीन व्यवसाय भनेको रक्सी बेच्ने ठाउँ हो। अनेक खालको ग्राहक आउँछन्। गुन्डासम्म आउँछन्। पैसा तिर्ने बेलामा ल्याङल्याङ गर्छन्। त्यतिबेला हामीले सहयोग माग्ने भनेकै पुलिसको हो। पुलिस पनि केही नपाएसम्म आउँदैन। त्यसैले यो यहाँ सिस्टम जस्तै भइसक्यो।’
खुशी पार्न प्रहरीलाई ‘अलि अलि’ दिनु उनी स्वाभाविक मान्छन्। ‘अलि अलि त दिनैपर्छ,’ उनले भने, ‘पहिले त २ बजे नै बन्द गराउन आइपुग्थे तर, अहिले दबाबचाँही छैन। अलिकति सेटिङ गर्यो भने ५–६ बजेसम्म मज्जाले खोल्न पाइन्छ। अलि अलि उनीहरुलाई दिँदा के फरक पर्छ त?’
यता प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी गणेश बम व्यवसायीसँग पैसा असुलेको आरोप स्वीकार्दैनन्। ‘यो हावा कुरा हो, बेकारको आरोप हो,’ उनी भन्छन्, ‘कसलाई के कुरामा चित्त बुझ्दैन अनि आरोप लगाइदिन्छन्। सबैको मुख थुन्न सकिन्न। कसैलाई कुनै केसमा ल्याएर कारवाही गरिएको हुन्छ, थुनिएको हुन्छ, त्यही भएर अनेक आरोप लाइदिन्छन्। त्यसको पछि लागेर भएन, हामीले हाम्रो काम गर्ने हो।’
त्यसो भए कुनै क्लब चार बजे नै बन्द गराउने, कुनै सात बजेसम्म खोल्न दिने किन भन्ने प्रश्नमा उनले अपत्यारिलो जवाफ दिए, ‘सम्भव भएसम्म सबैलाई समयमै बन्द गराउँछौं। त्यस्तो गरेका छैनौं।’ जबकी ठमेल गइरहने नाइट लाइफ प्रेमीहरुले पनि बिहान ६–७ बजेसम्म खुल्ने क्लब/बारहरुको नाम सहजै भन्न सक्छन्।
व्यवसायीहरु प्रहरीले दुःख दिएका कारण उठिवास भएको आरोप लगाउँछन् नि भन्ने प्रश्नमा उनको जवाफ छ, ‘हामीले के उठिवास गराउनु? आर्थिक मन्दी भयो, उनीहरुकहाँ ग्राहक आएनन् भने त्यसमा हाम्रो के भूमिका? ठमेलमा लुटेरा, पकेटमार लगायत अनेक खालका मान्छे आइरहेका हुन्छन्। त्यसैले आवश्यकताअनुसार काम गर्ने हो। शान्ति सुरक्षा दिने हो।’
आकर्षक डिउटी चोक पाउन प्रहरीभित्र हानाथाप
रिपोर्टिङका क्रममा ठमेलभित्र पनि केही चोकहरु प्रहरीका लागि आकर्षक मानिने पाइयो। जहाँ विशेषगरी शुक्रबार र शनिबार सोह्रखुट्टे वृत्तमा कार्यरत प्रहरीहरु आफ्नो डिउटी पार्नलाई हानाथाप गर्छन्। प्रहरी श्रोतका अनुसार ति चोकहरु नर्सिङ चोक, फायर र एलओडी क्लब भएका चोकहरु हुन्। ‘सिपाहीदेखि सईसम्म सबै त्यो चोकमा डिउटी पार्नलाई हाकिमको लबिङ गर्छन्। त्यहाँ राम्रै (रकम) उठाउन पाइन्छ,’ प्रहरी श्रोतको दाबी छ। तर, डीएसपी बमले यो स्वीकारेनन्। ‘त्यस्तो होइन। शुक्रबार र शनिबार मान्छेको भीड हुन्छ। त्यसैले चेकिङ र प्रहरी सक्रियता बढी हुन्छ,’ उनले भने।
‘महिनावारी’ नदिनेलाई कसरी पेल्छन्?
ठमेलमा ‘महिनावारी’ नदिने अर्थात् मेन्यू पालना नगर्ने रात्रिकालीन व्यवसायीहरुलाई ठेगान लगाउन प्रहरीसँग रेडिमेट कारण रहेको व्यवसायीहरु बताउँछन्। पहिलो कारण हो, ध्वनी प्रदुषण। धेरैजसो डिस्को/क्लबको आवाज सडकसम्म आउँछ नै। ‘जब बन्द गर्ने समय भयो, त्यसपछि प्रहरी बाटोसम्म साउन्ड आयो भन्दै माथि आइपुग्छन्। जबकी अन्त अरु क्लबहरु निर्बाध त्यसैगरी चलिरहेका हुन्छन्। साउन्ड आयो भन्ने उनीहरुको भाषाबाट हामीले उनीहरुलाई केही (रकम) पुगेन भन्ने बुझ्नुपर्छ,’ एक डिस्को व्यवसायीले भने।
त्यसपछि १ सयबाट कल आएको बहानामा पनि प्रहरीहरुले पेल्ने गरेको उनको भनाई थियो। ‘कहिले १ सयबाट कल आयो भन्दै आउँछन्, कहिले यहाँ झगडा भयो भनेर आएको भन्छन्। तर, उनीहरुको नियत अर्कै हुन्छ,’ उनले भने।
त्यसो त डीएसपी बम आएपछिको यो अवस्थाबारे उपत्यका प्रहरी कार्यालय रानीपोखरीदेखि जिल्ला प्रहरी परिसरका प्रमुखसम्मलाई ‘रिपोर्टिङ’ छ तर कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकिय सचिव भानु देउवाका निकट भएका कारण कसैले चलाउन नसकेको प्रहरी श्रोतको दाबी छ।
‘यो बेकारको आरोप हो, हामीले के उठिवास गराउनु?’
डीएसपी गणेश बम
महानगरी प्रहरी वृत्त सोह्रखुट्ट
हामीले सम्भवःभएसम्म सबैलाई रात्रिकालीन व्यवसायीलाई समयमै बन्द गराउँछौ। पैसा खान्छ भन्ने हावा कुरा हो। बेकारको आरोप हो। कसलाई के कुरामा चित्त बुझ्दैन अनि आरोप लगाइदिन्छन्। सबैको मुख थुन्न सकिन्न। कसैलाई कुनै केसमा ल्याएर कारवाही गरिएको होला, थुनिएको होला त्यहीभएर अनेक आरोप लाइदिन्छन्। त्यसको पछि लागेर भएन, हामीले हाम्रो काम गर्ने हो। शान्ति सुरक्षा उपलब्ध गराउने हो।
‘अलि अलि त दिनैपर्छ, यो ठमेलको सिस्टम नै हो’
रुपेश गुरुङ
अध्यक्ष, रात्रिकालीन व्यवसायी समिति
ठमेलमा अहिले त सक्नेले ७ बजेसम्म पनि खोलिरहेका छन्। प्रशासनलाई दोष दिनुपर्ने ठाउँ छैन। पहिले चाँहि जसको सेटिङ छ, उसले मात्रै खोल्न पाउँथ्यो। अहिले त १२ बजेसम्म खोल्न पाउने दोहोरी साँझ तीन चार बजेसम्म खोल्दिन्छन्। महिनावारी दिने सिस्टम त २०–२५ वर्षअघि देखिकै हो, अहिलेको होइन। नदिने भन्ने नै होइन। हाम्रो रात्रिकालीन व्यवसाय भनेको मदिरा बेच्ने ठाउँ हो। अनेक खालको ग्राहक आउँछन्। गुन्डासम्म आउँछन्। पैसा तिर्ने बेलामा ल्याङल्याङ गर्छन्। त्यतिबेला हामीले सहयोग माग्ने भनेकै पुलिसको हो। पुलिस पनि केही नपाएसम्म आउँदैन। त्यसैले यो सिस्टम जस्तै भइसक्यो। खुशी पार्न अलि अलि त दिनैपर्छ। पहिले त २ बजे नै बन्द गराउन आइपुग्थे तर, अहिले दबाबचाँही छैन। अलिकति सेटिङ गर्यो भने ५–६ बजेसम्म मज्जाले खोल्न पाइन्छ। अलि अलि उनीहरुलाई दिँदा के फरक पर्छ त!

