ललितपुर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका चालक शम्भु भनिने दिलबहादुर थापाको मृत्यु भएको छ। वैशाख ४ गते बिहान चितवनस्थित लामिछानेको घरको छतबाट भुइँमा खसेको अवस्थामा भेटिएका थापाको मंगलबार उपचारका क्रममा मृत्यु भएको हो।
चितवन-२ मा चुनावी कार्यक्रमका लागि सभापति लामिछानेसँगै उनका चालक पनि चितवन पुगेका थिए। वैशाख १० गते भएको उपनिर्वाचनबाट लामिछाने विजयी भएका छन्।
सिन्धुपाल्चोक घर भएका ३९ वर्षीय थापालाई सुरुमा भरतपुरमै उपचार गरिएको थियो। पछि हेलिकोप्टरमार्फत् उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा मंगलबार दिउँसो १:३५ बजे निधन भएको मेडिसिटी अस्पतालले जानकारी दिएको हो।
घटना भएको रात रास्वपाका महामन्त्री डाक्टर मुकुल ढकालका चालक कालुराम राजवंशी पनि थापासँगै सुतेका थिए। तर, ढकालका चालकले भने थापा छतबाट खसेकोबारे आफूलाई थाहा नभएको प्रहरीलाई बयान दिएका थिए।
प्रहरी अनुसन्धानमा थापाले राति रक्सी खाएको पाइएको प्रहरीको भनाइ छ। प्रहरीले थापाको दुर्घटनाका सन्दर्भमा छानबिन जारी रहेको जनाएको छ।


