काठमाडौँ- सरकारले मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि अध्यादेशमार्फत कानून बनाउने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकमा भएका निर्णयबारे जानकारी दिँदै मिटरब्याजीसम्बन्धी समस्या समाधान गर्न अध्यादेश ल्याइने बताइन्।
‘मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गर्ने निर्णय भएको छ,’ उनले भनिन्, ‘राष्ट्रपतिसमक्ष त्यो अध्यादेश पठाउने काम आजै हुन्छ।’ सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले मिटरब्याज पीडितको समस्या विशिष्ट प्रकारको भएकाले अध्यादेश ल्याउने निर्णय भएको जानकारी दिइन्।
सहुलियत दरमा ऋणको व्यवस्था गर्नुपर्ने, मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, मिटरब्याज विरुद्ध कानून निर्माण गर्नुपर्ने, तमसुक व्यवस्था खारेज गर्नुपर्ने, झुट्टा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गर्नुपर्ने लगायतका माग गर्दै मिटरब्याज पीडितले आन्दोलन गर्दै आएका छन्।


