मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई खेलकुदको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्ने बताएका छन्।
प्रदेश खेलकुद विकास बोर्डद्वारा आज विराटनगरमा आयोजित अन्तरप्रदेश राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई सम्मान कार्यक्रममा उनले त्यस्तो बताएका हुन्। कार्यक्रममा दुई सयजनालाई नगदसहित सम्मान गरिएको थियो।
मुख्यमन्त्री कार्कीले आगामी खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर तीन वर्षभित्र प्रदेशलाई पूर्वाधार निर्माण, प्रशिक्षणका लागि आवश्यक व्यवस्था गरिने भन्दैँ यस कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए। उनले चाँडै प्रदेश खेलकुद परिषद् निर्माण गरी खेलकुदको समग्र विकासका प्रयास अगाडि बढ्ने जानकारी दिए।
प्रदेशमा खेलकुदका संरचना निर्माणका क्रममा झापामा आदिवासी रङ्शाला निर्माणसम्पन्न गरी अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने उनको भनाइ छ। “खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ। त्यसैले विभिन्न जिल्लामा पूर्वाधार निर्माण र खेलाडीको प्रोत्साहनका लागि आवश्यक काम अगाडि बढाइएका छन्। झापामा रङ्गशाला बन्दैछ, सङ्घीय सरकारको मातहतमा विराटनगरको बैजनाथपुरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्शालालाई प्रदेशमा ल्याउन पहिल सुरु गरेका छौँ। यस क्षेत्रमा इन्डोर खेलकुद प्रतियोगिता आयोजना गर्न विराटनगर आसपासमा आवश्यक संरचना निर्माण गरिनेछ”, मुख्यमन्त्री कार्कीले भने।
प्रदेश खेलकुद विकास बोर्डका सदस्य-सचिव कृष्ण बस्नेत (पर्शुराम) ले खेलाडीको हौसला र उत्साहका लागि सम्मान कार्यक्रम आयोजना गरिएको बताए। त्यस अवसरमा खेलकुद क्षेत्रमा कलम चलाउने प्रदेशका सातजना सञ्चारकर्मीलाई समेत नगदसहित सम्मान गरिएको थियो।


