काठमाडौँ- त्रिशूली नदीमा हराइरहेका २ बस र ५७ यात्रु अझै फेला परेका छैनन्। शुक्रबार नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको पहिरोमा परेर यात्रुसहितका २ बस बेपत्ता छन्।
लगातारको खोजी कार्य जारी भए पनि हालसम्म ५ वटा शव मात्र भेटिएको छ। शनिबार २ जना र आइतबार ३ जनाको शव भेटिएको हो। आइतबार घटनास्थलभन्दा ५० किमि तल गैंडाकोटदेखि गोलाघाट क्षेत्रमा थप तीन शव फेला परेका हुन्। शनिबार पनि सोही क्षेत्रमा दुई शव भेटिएका थिए।
चितवन प्रशासनले काठमाडौंदेखि गौर जाँदै गरेको बसमा ३८ जना र वीरगन्जदेखि काठमाडौं जाँदै गरेको बसमा २७ गरी ६५ जना यात्रु रहेको जनाएको छ। जसमा तीन यात्रु पौडिएर बाँच्न सफल भए पनि दुई बस र बाँकी ५७ यात्रु भने तीन दिन बित्दा पनि फेला पर्न सकेका छैनन्। सनाखत भएका पाँच शव आफन्तले बुझिसकेको चितवन प्रशासनले जनाएको छ।
शुक्रबार बिहान साढे ३ बजेतिर खसेको पहिरोले बगाएर त्रिशूलीमा हराएका दुई बससँगै यात्रुको खोजीमा लगत्तै सुरक्षाकर्मी परिचालन भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। बस घटनास्थल नजिकै रहेको संकेत मिलेको भन्दै प्रजिअ यादवले सोमबार गोताखोर पानीभित्रै गएर खोजी गर्ने बताए।
आइतबार गृह सचिव एकनारायण अर्याल र सुरक्षा प्रमुखहरूको टोलीले घटनास्थलको निरीक्षण गरेको थियो। हराएका यात्रुका आफन्तले विदेशबाट गोताखोर मगाएर भए पनि खोजी गर्न माग गरिरहेका छन्।
त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र तीनमा सवार यात्रुहरुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहयोग मागेको छ ।
बंगलादेश र भारतसँग सहयोग माग्दै सरकार
आइतबार गृहसचिव एकनारायण अर्यालसहित सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयका अधिकारीहरुले भारत र बंगलादेशका अधिकारीहरुसँग सम्पर्क गरी सहयोग मागेका हुन्।
स्थलगत अनुगमन टोलीमा सहभागी गृह मन्त्रालय अन्तर्गतको द्वन्द्व तथा विपद व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले नेपालमा उपलब्ध सबै खालका प्रविधि र जनशक्ति प्रयोग गरेर खोजी गरिरहेको बताउँदै खोजी कार्यमा सहयोग गर्न भारत र बंगलादेशसँग सहयोग मागेको बताए।
भारतीय टोलीसँग भारतमा सिधै सम्पर्क गरेर सहयोग मागेको उनले बताए। उनीहरुलाई घटनास्थलको अवस्था र पानीको बहावको वेग लगायतका जानकारी आइतबार नै पठाइएको भन्दै भूसालले उताबाट प्रतिउत्तरको प्रतीक्षामा रहेको बताए।


