काठमाडौँ- नक्कली शरणार्थी बनाएर रकम असुली गर्न संलग्न भएको आरोपमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा पक्राउ परेका छन्।
रायमाझीका छोरा सन्दीप बुटवलबाट बुधबार साँझ पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। रायमाझीका बाबुछोराविरुद्ध नै बुधबार काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
नक्कली शरणार्थी प्रकरणमा नै संलग्न भएको आरोपमा नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका छन्। उपराष्ट्रपति कार्यालयका सचिव पाण्डेले जिल्ला प्रहरी परिसर, टेकु पुगेर सरेन्डर गरेका थिए।
नक्कली शरणार्थी प्रकरणमा नै प्रहरीले मंगलबार मात्र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो।
भूटानी शरणार्थीको प्रमाणीकरणका लागि सरकारले २०७६ वैशाखमा बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। हालसम्म सार्वजनिक नगरिएको प्रतिवेदनको अनुसूचीमा नाम थपेर अमेरिका पठाइदिने भन्दै सचिव पाण्डेसहित राईको संलग्नता भएको गिरोहले झापा, मोरङ, सुनसरी, कास्की, बाग्लुङलगायतका जिल्लाका मानिसहरुबाट रकम असुली गरेको आरोप लागेको छ।
गिरोहमा संलग्न भएको आरोपमा दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल, सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परिसकेका छन्। दुलालले सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला निजी सचिवालयमा काम गरेको खुलेको छ। भण्डारीसँग आफ्नो पुरानो चिनजान रहेको भन्दै तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीले स्विकारिसकेका छन्। ऊर्जामन्त्री रायमाझीकै सहयोगी भण्डारी थिए।
यही गिरोहमा संलग्न भएको आरोपमा इन्द्रजितका छोरा निरज राईविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। मंगलबार बिहान पक्राउ परेका राईसँगै छोरा निरजलाई पनि पक्राउ तयारी प्रहरीले गरेको थियो। तर निरज नभेटिएपछि पक्राउ पुर्जी जारी गरिएको ललितपुर प्रहरीले जानकारी दिएको छ।
राईसमेतले विभिन्न चरणमा ५ करोड रुपैयाँभन्दा बढी रकम आफूहरूबाट लिएको पक्राउ परेकाहरूले बयान दिएपछि राई पक्राउ परेका हुन्। उनी पक्राउ परेपछि प्रहरीले पक्राउ पुर्जी लिने र पक्राउ गर्ने शृंखला चलाएको छ।


