काठमाडौँ- नेकपा एमालेका सचिवसमेत रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन्। उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
बुधबार अर्घाखाँचीको कार्यक्रममा सहभागी भएका उनी भैरहवा पुगेका थिए। भैरहवाबाट उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ। ठूलो रकम असुलेर नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइदिने र अमेरिका पठाउने गिरोहमा संलग्न भएको आरोपमा रायमाझी पक्राउ परेका हुन्।
यसअघि उनका छोरा सन्दीप रायमाझी पनि यही प्रकरणमा समातिइसकेका छन्। सन्दीपको नाममा डेढ करोडको चेक काटिएको पनि भेटिएको प्रहरीको भनाइ छ। रायमाझीका बाबुछोरालाई सँगै काठमाडौँ ल्याउने तयारी प्रहरीले गरेको छ। दुवैलाई काठमाडौँ जिल्ला अदालतमा आजै पेस गर्ने तयारी प्रहरीको छ।
रकम असुलेर नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने गिरोहमा नै संलग्न भएको आरोपमा नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका छन्। उपराष्ट्रपति कार्यालयका सचिव पाण्डेले जिल्ला प्रहरी परिसर, टेकु पुगेर सरेन्डर गरेका थिए।
मंगलबार मात्र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो।
भूटानी शरणार्थीको प्रमाणीकरणका लागि सरकारले २०७६ वैशाखमा बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। हालसम्म सार्वजनिक नगरिएको प्रतिवेदनको अनुसूचीमा नाम थपेर अमेरिका पठाइदिने भन्दै सचिव पाण्डेसहित राईको संलग्नता भएको गिरोहले झापा, मोरङ, सुनसरी, कास्की, बाग्लुङलगायतका जिल्लाका मानिसहरुबाट रकम असुली गरेको आरोप लागेको छ।
गिरोहमा संलग्न भएको आरोपमा दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल, सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परिसकेका थिए। उनीहरू पक्राउ परेपछि दिएको बयानका आधारमा उच्च पदस्थहरू धमाधम पक्राउ पर्न थालेका हुन्।
दुलालले सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला निजी सचिवालयमा काम गरेको खुलेको छ। भण्डारीसँग आफ्नो पुरानो चिनजान रहेको भन्दै तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीले स्विकारिसकेका छन्। ऊर्जामन्त्री रायमाझीकै सहयोगी भण्डारी थिए।
यही गिरोहमा संलग्न भएको आरोपमा इन्द्रजितका छोरा निरज राईविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। मंगलबार बिहान पक्राउ परेका राईसँगै छोरा निरजलाई पनि पक्राउ तयारी प्रहरीले गरेको थियो। तर निरज नभेटिएपछि पक्राउ पुर्जी जारी गरिएको ललितपुर प्रहरीले जानकारी दिएको छ।
यो प्रकरणमा अहिलेसम्म ९ जना पक्राउ परिसकेका छन्।


