काठमाडौँ- एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।
श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयानुसार बेलुका ७ः१५ बजे सुरु हुनेछ। प्रतियोगितामा लगातर दोस्रो जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रनेछ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गरेको थियो। पाकिस्तान पनि पहिलो जित निकाल्ने उद्देश्यका साथ खेल्नेछ। यसअघि भएको पहिलो खेलमा पाकिस्तान भारतसँग सात विकेटले पराजित भएको थियो।
सन् २०१६ मा भएको एसिया कपमा यी दुई टोलीको भेट भएको थियो। पाकिस्तानले नेपाललाई नौ विकेटले पराजित गरेको थियो।


