२०८३ साउन १३ गते बुधबार

बीपीको राजनीति र साहित्यलाई अलग गरेर हेर्न हुँदैन

 |  प्राडा अभि सुवेदी
Sanket

प्राडा अभि सुवेदी

काठमाडौँ, साउन ६
abi_subedi

तर म यति भन्न चाहन्छु कुनै व्यक्तिगत प्रश्न उठाएर होइन कि त्रिगुण मर्यादाले मण्डित मेरो प्रधानमन्त्रीत्वको निर्मम समाप्तिको कुनै पनि औचित्य थिएन। -बीपी कोइराला

त्रिगुण मर्यादाले मण्डित भन्ने शब्द मैले ‘सान्दाजुको महाभारत’ नाटक लेख्दा पनि उल्लेख गरेँ। मैले देशविदेशमा पनि यो भनाइलाई उल्लेख र व्याख्या गरेको छु। नेपाली राजनीति र साहित्यमा सबैभन्दा धेरै एकैसाथ नाम लिइने व्यक्ति विश्वश्वेरप्रसाद कोइराला उर्फ बीपीको साहित्य सिर्जना र उनको जीवनदर्शन जस्ता विषयलाई सँगै राखेर छोटो संकथनमा प्रस्तुत गर्न खोज्नु एउटा चुनौतीपूर्ण कर्म हो। त्यसैले मैले केही आधारहरु राखेर यो विषयलाई व्याख्या गर्न खोजेको छु।

यो प्रस्तुति नितान्त साहित्यक समालोचना वस्तुगत र व्यक्तिगत नभएर एक अनुभव र स्मृतिले पनि प्रभावित छ। यो एउटा जानीजानी गरिएको प्रयोग हो। किनभने बीपी आफैंले पनि निर्वैयक्तिक देख्ने साहित्यिक लेखनमा निजको भावना र अनुभवजनीन अभिव्यञ्जनाको प्रयोग गरेका छन्। उनको सम्पूर्ण लेखनमा अत्यन्त मानवीय तरंग र विचारको संयोग छ। त्यो उनको भावना र विचारले बनेको पद्धति हो।

अदालतको बयानमा बीपीले सबै वैधानिक र प्रजातान्त्रिक मानवीय गुणहरुले मण्डित उनको प्रधानमन्त्रीत्वकाल राजाद्वारा समाप्ती गरिदिनु अनुचित भएको कुरा प्रष्टसँग राखेका छन्। बीपीको साहित्य साधनमा र उनको जीवनदर्शनमा अनेकौं रुपले मण्डित शक्तिको अनुशीलन गरिएको छ। उनको साहित्यको मीमांशाको आधार नै यही बहुल चेतनाको संगम हो।

बीपीको जीवनदर्शन अर्को बृहत् विषय हो। एक ठूला साहित्यकार राजनीतिज्ञ नेता र नित्य कर्मशील द्रष्टाको जीवन दर्शन बहुआयामिक हुन्छ। त्यसका आधारमा साहित्यिक दार्शनिक राजनीतिक आध्यात्मिक र भौतिक पक्ष हुन्छन्। बीपी कोइरालाको जीवन दर्शन बहुआयामिक छ र त्यसको महत्वपूर्ण स्वरुप उनले सिर्जना गरेको साहित्यमा देखिन्छ। त्यो कसरी व्यक्त भएको छ र त्यसका स्वरुप कसरी रचना भएका छन् भनेर हेर्नुपर्छ। साहित्यमा व्यक्त हुने लेखकको जीवन दर्शन हेर्न साहित्यिक विधाहरुकै आधार लिनुपर्छ।

हामी बीपी कोइरालाको जीवनदर्शन उनले विभिन्न विधामा लेखेका साहित्यिक रचनाका आधारमा हेर्छौँ। बीपी कोइरालाको जीवनदृष्टि हेर्न उनका राजनीतिक चिन्तन भएका लेख र उनले दललाई दिएका दृष्टिको प्रयोग भइआएको छ। यी बीपीको राजनीतिक दर्शनको मिमांशा गर्ने बलिया आधार हुन्। उनी जस्ता एक राजनेताको अध्ययनका निम्ति यो स्वाभाविक प्रकिया हो।

बीपीले धेरै राजनीतिक सिद्धान्तका ठेली नलेखेर साहित्यिक कृतिका सिर्जना गरे। जसमा उनले आफ्नो जीवन दर्शनलाई पात्रहरुको अवस्थाको अनि तिनका जीवनका संघर्षका अनेकौं पक्षका चित्रण गरेर प्रस्तुत गरे। यस्ता चित्रणमा मानिसले यसै गर्नुपर्छ भन्ने आधार बीपीले राखेनन्। उनले मानिसका नैसर्गिक वृत्ति अनि तिनका आलम्बनको चित्रण गरे। उनले खासै अमुक लेखक र दार्शनिकको प्रभाव र तीनका दर्शनका आधार राखेको देखिँदैन साहित्यमा। मानिसको अस्मिता बुझ्ने क्रममा बीपीले केही साहित्यकारका प्रसंग ल्याएका लेख भेटिन्छन्। तीमध्ये उनले लेखेको फ्रान्सेली लेखक अल्बर्ट कामुका विचारहरुलाई लिन सकिन्छ, कामुको जीवन र मृत्युको सम्बन्ध।

निकै पहिला लेखेको लेखमा बीपीले अन्यायलाई चुनौतिका रुपमा हेर्नुपर्छ भन्ने सिद्धान्तलाई उजागर गरेका छन्। कामुको दर्शनलाई उनले निराशावादी, शून्यवादी र निष्क्रियतावादी भनेका छन्। मृत्यु छ भनेर विद्रोहको अपरिहार्यतालाई बिर्सन नहुने कामुको धारणालाई बीपीले प्रमुख स्थान दिएका छन्।

बीपीले पारिजातको ‘शिरिषको फूल’ जेलमै पढेर लेखेका छन्- शंकर लामिछानेले भूमिकामा गरेको शून्यवादको व्याख्या विद्वतापूर्ण छ। यो उपन्यासमा जीवनप्रति अघात ममता छ। उनी भन्छन्- त्यसको यहाँ मार्मिक उल्लेख भएको छ। बीपी सुयोगवीरलाई जीवनप्रति उदासीन व्यक्तिको रुपमा लिँदैनन्। तर त्यसका स्मृतिले ऊ सँधै समातिएको छ। बीपी सायद कामुको यो भनाइलाई प्रयोग गरेर भन्छन्- पारिजातको उपन्यासमा शून्यवाद छ भन्न मिल्दैन। नेपाली समीक्षकहरुसँग यसमा उनी फरक देखिन्छन्।

बीपी सकम्बरीलाई लिएर भन्छन्- सकम्बरी नराम्री छ र सायद उनमा हीनताभाव (इनफेरियोरेटी) छ। ऊसँग नारी सुलभ प्रेमको प्यास छ। ऊ भावुक छ। यही भावुकता र हीनताभावले गर्दा उसको ट्राजेटी भएको हो। त्यसैले साहित्यलाई हेर्ने उहाँको दृष्टि अत्यन्तै सुष्म र महत्त्वपूर्ण थियो।

फ्रान्सेली साहित्यमा आएका र विश्वभरलाई प्रभाव पारेका विचारहरुको छलफल गर्दा नेपालमा सायद तीनका विषयमा छलफल सुरु भएका थिएनन्। केही समयपछि मात्रै शंकर लामिछानेले कामुका विचार साहित्य रचना गर्ने परिस्थितिका विषयमा लेखेका छन्। बीपीले कामुलाई अलि भिन्न लेखकका रुपमा प्रस्तुत गरेका छन्। त्यसो त उनको अध्ययनको वृत्त अलि फराकिलो थियो। बीपीले धेरै लेखकहरुको कृति पढेका थिए। जेलमा छँदा पनि उनले त्यो क्रम जारी राखे। बाहिरका र नेपाली लेखकका कृति बीपीले भेटेसम्म पढे। उनका प्रतिक्रियाहरु कस्ता थिए ती रचनामाथि भन्नेकुरा जान्ने हामीसँग धेरै आधार छैनन्।

डा हरिप्रसाद शर्मा पराजुलीलाई २०३७ सालको असार महिनामा बीपीको निवास चाबहिलमा दिएको अन्तर्वार्ता मैले भेटेको महत्त्वपूर्ण आलेख हो। यसमा बीपीले आफूलाई फ्रायड, एडलर र युङको प्रभाव परेको कुरा स्वीकार गरेका छन्। तर त्यसो भन्दा बीपीको फ्रायडवादी व्याख्या गर्ने पद्धतिमा समस्या देखिन्छन्। एडलरका व्यक्तित्व र अहम् चेतनाका सुक्ष्म अध्ययन र युङका मनका गहिरा आयामबारे लामा स्मृति वा पुस्तान्तरका स्मृतिहरुको पनि व्याख्या छ। उहाँले फ्रायड, एडलर र युङको प्रभाव पर्‍यो भनेर भन्नुभएको छ। यो महत्वपूर्ण कुरा हो।

साहित्य र राजनीतिलाई उनले आफ्नो हृदयमा दौँतरी जस्तै भएर बसेका रुपमा मानेका छन् उनले। तर यिनमा कुनै सम्बन्ध हुँदैन पनि भनेका छन्। त्यसैले उनका यी कुराहरु बुझ्न कि त उनैसँग छलफल गर्ने एउटा सम्भावना थियो। जुन हामीले चुकायौँ। कि त अहिले सुक्ष्म अध्ययन गर्ने काम हो।

पराजुलीले गरेको यो अन्तर्वार्ता प्रसंशनीय छ। त्यो अन्तर्वार्तामा बीपीले भनेका कुरा अत्यन्त महत्त्वपूर्ण र वाचाल छ। बीपीले भनेका छन्- तर मेरो साहित्यसँग घनिष्ठ सम्बन्ध भएकाले मेरा राजनीतिक लेखहरुको भाषा पनि साहित्यिक भाषासँग नजिकिएको छ। बीपीका राजनीतिक लेखमा साहित्यिक विषयभित्रको अभिव्यञ्जना व्यक्त गर्ने एउटा शक्ति छ। बीपीले भनेको यो कुरा उनको आफ्नो कथा वा निजी जीवनीदेखि लिएर उनका डायरीहरुमा प्रयोग भएको भाषा र जीवनका सुक्ष्म पक्षहरुको प्रस्तुतिमा साहित्यिक शैली र अभिव्यञ्जना पाउन सकिन्छ।

यस अन्तर्वार्तामा बीपीले प्रेमिका, भार्या र माताका तीन घुम्ती पार गरेकी विद्रोही नारी इन्द्रमायाको चित्रण गरेका छन्। उनले रचनागर्भबारे पनि खुलाएका छन्। उनले भनेका छन्-नरेन्द्र दाइ उपन्यासकी पात्र विश्वबन्धुकी आमाका दाइ हुन्। उनका उपन्यासमा जीवन्त पात्रहरुबाट जन्मिएका मनोगत र घटनामुखी चरित्र छन्।

सुम्निमाको रचनागर्भबारे उनले अन्तर्वार्तामा भनेका छन्- मैले सुन्दरीजल जेलमा बस्दा ब्राह्मण र राई सभ्यताका कट्टर समर्थक रामनारायण मिश्र र देवानसिंह राईको चर्काचर्की सांस्कृतिक बहस सुनेँ। सुम्निमा र विजुवाको कथा राईले बताए भने सोमदत्तको कथा मिश्रले बताए। उनीहरुले भनेकै कथालाई सुम्निमा उपन्यासमा कलात्मकता दिएको छु। मिश्र र राईबीच भएको आत्मसंवाद र भौतिकवादमा आधारित बहस सुनेर लेखिएको यो उपन्यास दुई सभ्यताबीचको संगमका रुपमा देखिन्छ।

बीपी कोइरालाले आफ्नो प्रधानमन्त्रीत्वलाई त्रिगुणले मण्डित भनेका छन्- अदालतको बयानमा। बीपीको साहित्यलाई एक बहुल पक्षले बनेको सिर्जनात्मक कलेवरका रुपमा लिँदा यही त्रिगुणले मण्डित साधनालाई उपलब्धिका रुपमा लिएर हेर्दा उनको साहित्यको सार भेट्न सकिन्छ।

त्यही अन्तर्वार्तामा बीपीले मोदीआइन र हिटलर र यहुदीलाई गीतादर्शनमा आधारित उपन्यास भनेका छन्। उनलाई गीता निष्कर्ष नदिई सकिएको अनुभव भयो। त्यसमा निजी अनुभवबारे राखेको कुरा पनि महत्वपूर्ण छ। महाभारतको उपन्यासको अविवाहित हिटलर कृष्णले महाभारतमा गराएको युद्ध वा नरसंहारलाई कर्तव्य ठान्छ। आज पनि त्यस किसिमका हिटलरहरु त्यस किसिमको निर्वैयक्तिक र आफूले गरेको कर्ममा गर्व लिने मान्छे छन्। पात्रहरु छन्। बीपीले त्यो बेला नै यी पात्रहरु देखिसक्नुभएको हुनाले उहाँको साहित्यमा जुन भिजन छ। त्यो भिजनको बलियो पक्ष देख्न सकिन्छ।

बीपी कोइरालाले मानिसका सुक्ष्म सरल मनोभावदेखि तीनका मिथकीय र भयानक स्वरुपको पनि चित्रण गरेका छन्। बीपीको अध्ययन प्रद्धतिबारे पहिला पनि मैले लेखेको छु। उहाँले जेलमा बस्दा कांग्रेसका साथी कार्यकर्ताहरुलाई पढ्न लगाउनुहुँदो रहेछ। कृति लेख्न लगाउनुहुँदो रहेछ। त्यो पनि एउटा महत्त्वपूर्ण विषय हो। बलबहादुर राईले पनि बीपीले अध्ययन गर्न लगाएको कुरा स्वीकार गरेका छन्।

बीपीको अध्ययनको मोडल एक सिद्धान्त पढ्ने नेताको जस्तो नभएर एक साहित्यकारको जस्तो थियो। यी सबै कुरा पढ्दा मैले पनि उहाँसँग जेलमा बसेका मित्रहरुको कविताहरुमा भूमिका लेखेको थिएँ। ती किताब प्रकाशित भएनन्। रत्न पुस्तकमा कतै केही होलान्। तर एउटा रमाइलो कुरा के छ भने जेलमा बस्दा उहाँले आफ्ना कमरेडहरुलाई साहित्य पढ्न लगाउने र लेख्न लगाउने गरेको कुरा महत्वपूर्ण लाग्छ। त्यो किन बीपीले गर्नुभयो भन्ने कुरा आज कतिसम्म बुझिएको छ? हामीले कसरी बुझेका छौं? तर उहाँले त्यो किन गर्नुभयो? उहाँले साथीहरुलाई ठूला साहित्यकार बनाउने उहाँको ध्येय होइन। तर उहाँले राजनीति र साहित्यको भाषा मिल्छ भन्नुभएको छ। त्यसकारण उहाँका साथीहरुमा साहित्यिक संवेदनशीलता होस्, मानवीय संवेदनशिलता होस् रोबोट जस्ता नहुन्, मानवतावादी हुन्, क्रर नहुन्, अधिनायकवादी नहुन् भन्ने ध्येय थियो। मान्छेको अधिकारको रक्षा गर्ने सम्मान गर्ने मानिसहरु हुन् भन्ने उहाँको चाहाना यसमा प्रतिविम्बित हुन्छ।

बीपीले आफ्नो किताब छान्ने पद्धतिको एक साहित्यकार र स्वतन्त्र विचारकको जस्तो थियो। उनको यो महत्त्वपूर्ण कालमा लेखिएको डायरीमा बीपीले लुइ फिसरले लेखेको गान्धी किताबको विषयमा वर्णन गरेका छन्। बीपीलाई यस अर्थमा हामी एक साहित्यिक समीक्षात्मक चेतना भएका अध्येताका रुपमा देख्छौँ।

बीपीले भनेका छन्- मेरा स्कुले दिनमा म गीता पढ्थेँ। तर जब मलाई मार्क्सवादको प्रभाव पर्‍यो। मेरो गीतासम्बन्धी धारणा भ्रम जस्तो लाग्यो। तर गीताभित्रको विचार मन पराउँछु। बीपीको साहित्यसिर्जनामा अधिचेतनाको महत्व छ। बीपीले कुनै पनि साहित्यिक कृतिलाई यसै लेखेनन्। त्यसमाथि विचार/दृष्टिकोण/दर्शन सबैलाई विचार गरेर लेखे।

बीपी राजनीति र साहित्यको सचेत व्याख्या गरिरहनुहुन्थ्यो। राजनीति के हो, साहित्य के हो भनेर सचेत व्याख्या गरिरहनुहुन्थ्यो। त्यसमा उहाँले गरेको एउटा प्रसिद्ध व्याख्या छ- म राजनीतिमा एउटा व्यक्ति छु भने साहित्यमा एकदम अर्को। यसरी मभित्रका दुई प्राणीले दुई पृथक कार्य गरिरहेका छन् भन्ने मलाई लाग्छ। ती दुईवटा प्राणीहरुको कहिलै पनि आपसमा भेट भएको छैन। राजनीतिमा म एउटा अन्तरप्रेरणाले उकासिएको छु। साहित्यमा ठिक विपरित। यो कुरा म आफैं पनि मान्दिनँ। र उहाँका साहित्यिक कृतिहरुले पनि त्यस्तो देखाउँदैनन्। उनको साहित्य र राजनीतिमा त्यति ठूलो अन्तर छैन। उनले यस्तो खालको भनाइ पहिलो पटक राखेका होइनन्।

आधुनिकतावाद शैली परिवर्तनको आन्दोलन भन्ने धेरै पहिले उनले निबन्ध लेखेका छन्। त्यसमा उनले भनेका छन्- राजनीति र कलाको आपसी द्वन्द्वको सन्दर्भमा प्रलम्बन गरेर यो भन्न सकिन्छ कि राजनीति र कला दुई परस्पर उद्देश्यलाई लिएर स्थापित क्षेत्र हुन्। बीपीले राजनीतिको रुढीग्रस्त र नयाँ विचार प्रयोगहरुको शंकाशील चरित्रलाई इंगित गरेर साहित्यको महत्वलाई टट्कारो गरेको अर्थमा लिनुपर्छ भन्ने मेरो धारणा छ।

वास्तवमा यो बीपीको सचेष्ट साहित्य सिर्जना अथवा अधिचेतनाको अभिव्यक्ति हो। उनका कुनै पनि साहित्यिक कृतिलाई यही सचेष्ट साहित्य सिर्जनाका आधारमा हेर्नुपर्छ भन्ने मेरो धारणा छ। उनका केही साहित्यिक कृतिहरुको उदाहरण दिएर बीपी साहित्य लेख पद्धतिको छलफल राख्न चाहान्छु। बीपी आफैंले आफ्नो पद्धतिबारे अदालतमा प्रयोग गरेको अभिव्यक्तिलाई आधार राखेर केही कुरा राख्न चाहान्छु।

बीपी कोइरालाले आफ्नो प्रधानमन्त्रीत्वलाई त्रिगुणले मण्डित भनेका छन्- अदालतको बयानमा। बीपीको साहित्यलाई एक बहुल पक्षले बनेको सिर्जनात्मक कलेवरका रुपमा लिँदा यही त्रिगुणले मण्डित साधनालाई उपलब्धिका रुपमा लिएर हेर्दा उनको साहित्यको सार भेट्न सकिन्छ।

कोइरालाको कानुनको सिद्धान्त साहित्य र त्यसमा भेटिने अधिसिद्धान्त अनि राजनीति र साहित्य वैशिष्ट जनाउने आधारहरु राखेर उनको सम्पूर्ण साहित्य रचना हेर्नुपर्छ भन्ने मेरो मान्यता छ। म उनको साहित्यमा पाइने चेतनाबारे छलफल गर्न चाहन्छु। यस चेतनाको आधार उनको सिर्जनशील र सामाजिक वा राजनीतिक चेतनाको कलेभर हो। उहाँले अदालतमा बयानमा भन्नुभएको छ- बडो व्यथित हृदयले उल्लेख गर्नुपर्छ कि त्यस दिन हजारौं नेपाली नागरिकहरु न केवल बन्दी बनाइए। तिनीहरुलाई आतंकको वातावरणमा बन्दी बनाइयो। त्यसरी तिनीहरुलाई आत्महीन तुल्याइयो। यो साहित्यकारले भन्न सक्ने शक्तिशाली अभिव्यक्ति हो।

बीपी मानिसको आत्मासँग सम्बन्धित हुनुहुन्थ्यो। उहाँको साहित्य मानिसको आत्मासँग सम्बन्धित हुन्थ्यो। मुक्ति र स्वाभिमानसँग सम्बन्धित थियो। प्रजातन्त्रको अर्थ नै त्यही हो कि मान्छे स्वाभिमान र मुक्त चेतना भयो भने उसको शिर ठाडो हुन्छ। त्यो कुरा कु भएको दिन हनन् भएको थियो भन्ने कुरा बीपीले यसमा इंगित गरेका हुन्। यस कुराले म सँधै तरंगित र प्रभावित भएको छु।

उहाँले भन्नुभएको छ- नेपालको इतिहासमा जनताको सम्मानलाई समाप्त पार्ने या नागरिकहरुको तेजोबोध गर्ने त्यत्रो ठूलो पैमानामा यस्तो कार्य पहिले कहिल्यै भएको थिएन। एउटा साहित्यकारले यो लेख्नु अर्को महत्त्वको विषय हो। आजको दिनमा आउँदाखेरी त्यो मान्छेको आत्मसम्मान, त्यो मान्छेको आत्मबोध, त्यो मान्छेको शिर उचालिने कामपछिको राजनीतिक कर्मले गर्‍यो कि गरेन? यो कुरा प्रजातन्त्रमा काम गर्ने, लोकतन्त्रमा काम गर्नेहरु सबैको चिन्ता र चासोको विषय हुनुपर्छ भन्ने मेरो धारणा छ।

राणाकालमा मान्छेहरुको तेजोबोध नै भएको थियो। मान्छेहरुले शिर उठाउन सक्दैन थिए। तर त्यो बेला उहाँले तेजोबोध भन्नुको एउटा कारण के छ भने जनताले छानेको पद्धतिभित्र उहाँको प्रधानमन्त्रित्वकालको हनन र एकतन्त्रीय शासन राख्ने कर्मलाई उहाँले संकेत गर्नुभएको हो। बीपी कोइरालाको साहित्य र राजनीतिलाई उहाँले भने जस्तै गरेर अलग गरेर हेर्न हुँदैन।

विश्वश्वरप्रसाद कोइरालाले साहित्यका पात्रहरुलाई तिनको जीवन र तिनले भोगेका नियतिलाई हेर्न अधिचेतनाको प्रयोग गर्नुभएको छ। जुन महत्वपूर्ण छ। त्यसको अर्थ उनका कथा र उपन्यासका पात्रहरुका कर्म, तिनका आलम्बन सबै सचेष्ट खोजी र प्राप्तिका कथा हुन्। उनले नेपालीमा लेखेका २३ र हिन्दीमा लेखेका ४ कथाले बीपीलाई एक लेखकका रुपमा स्थापित गरिसकेका थिए। उनका २७ कथाका सुक्ष्म पात्र चित्रणमा मानिसका सरलताभित्र उसको बृहत चेतना बुझ्ने उसको अस्मिताका विभिन्न पक्षका आयमलाई उजागर गर्ने सिर्जानात्मक सामर्थ्य देखाएको कुरा अध्ययनको एउटा स्थापित कुरा भएको छ।

२०१७ सालदेखि २०२५ सालसम्मको जेलजीवनले उनको साहित्य लेखनप्रतिको साधनाको प्रकृतिमा परिवर्तन आएको कुरा महत्वपूर्ण छ। अगाडि कथा लेख्नुभएको छ। तर ८ वर्ष जेल बस्नुभयो। ०२५ सालमा छुट्नुभयो। तीन घुम्ती उपन्यास निस्कियो। तर त्यो विचार गर्नुभएको जेलमा। साहित्यको दृष्टिकोणले हेर्दा त्यो काल नै छुट्टिन्छ। म साहित्यको दृष्टिकोणले हेर्दा काल छुट्टयाउँछु। तपाईहरु राजनीतिको दृष्टिकोणबाट हेर्दा काल छुट्टाउनुहुन्छ।

उहाँले जेलमै हुँदा ५/६ उपन्यास लेख्नुभएको हो। साहित्यको चिन्तन त्यही बेला सुरु गर्नुभएको हो। सबै उनका उपन्यास जेलमा लेखिएनन्। तर त्यहाँको जीवन अध्ययन चिन्तन् र चेतनाले ल्याएका परिवर्तन नै बीपीको औपन्यासिक साधनाको कारक भए। त्यसैले मानिसको मुक्तिसँग गाँसिएको बीपीको राजनीतिक दर्शनले उजागर गरेको विषयले उनका पात्रहरुले भोगेको जीवनदृष्टि समावेश गरेको छ। त्यसकारण राजनीति र साहित्यलाई अलग राखेर हेर्न मिल्दै मिल्दैन।

उहाँको राजनीतिक करियरमा जुन सिफ्ट भयो। साहित्यमा पनि त्यही समयमा सिफ्ट भयो। उहाँले साहित्य र राजनीतिलाई अलग भन्नुभयो। त्यसरी होइन। उहाँको राजनीतिक चिन्तनमा पनि सिफ्ट भयो। उहाँको राजनीतिक स्ट्राटेजीमा पनि सिफ्ट भयो। उहाँको साहित्य लेखनमा त सिफ्ट भयो भयो। त्यसपछि नै धेरै साहित्यिक कृतिहरु लेखिए किन? त्यसको अर्थ के हो? राजनीतिमा त्यसको सम्बन्ध के छ? भन्ने नै सबैभन्दा महत्वपूर्ण अध्ययनको विषय हो।

तीन घुम्ती २०२५ साल, नरेन्द्र दाइ २०२६ साल, सुम्निमा २०२७ साल, मोदीआइन २०३६ साल, हिटलर र यहुदी २०४० साल र बाबु आमा र छोरा २०४५ साल। यो त प्रकाशनको सुविधाका लागि साल तोकिएको हो। तर उहाँको जेलजीवनमै तयार भएका पात्र हुन् यिनीहरु। किन त्यत्रो महान परिवर्तन आयो त उहाँमा? भनेपछि साहित्यले के प्रतिविम्बित गर्छ?

जेलबाट बीपी छुटिसकेपछि उहाँको राजनीतिक साधना र कर्मबारे त मभन्दा तपाईँहरु बढी जान्नुहुन्छ। जे गर्नुभयो कर्म त्यसमा पनि सिफ्ट भयो। साहित्यमा परिवर्तन भयो। भनेपछि उहाँका साहित्यलाई कसरी हेर्ने? पछिल्लो कालको उहाँको साहित्यलाई हेर्ने आधार अधिचेतना हो। यथार्थदेखि लिएर मिथकीय विषय पनि छन्। जस्तै मोदीआइनमा छ। मोदीआइनले ‘ठूलो मान्छे नहुनु, असल मान्छे हुनु’ भन्छ। सबैभन्दा ठूलो प्रयोग मानवजीवनमा मानिसको सम्बन्धको मानवतावादको प्रयोग त जेलजीवन भन्दा उत्तरकालमा गर्नुभएको छ।

बीपीको साहित्य र राजनीति अलग हुन् भन्ने उहाँले भनेपनि उनको उपान्यासकार व्यक्तित्वले राजनीतिको नयाँ आयाम प्रस्तुत गरेको अवस्था देख्न सकिन्छ। बीपीको त्यो बेलाको राजनीतिक आयाम माथि महत्वपूर्ण अध्ययन भएका छन्। बीपीको पछिल्लो साहित्यिक कालमा आधुनिकताको चेतना कसरी प्रवेश गर्‍यो? साहित्यमा आधुनिकताको नयाँ आयाम खोलेका छन् बीपीले। त्यसैले यो आधुनिकतालाई उनको राजनीतिको दर्शन मानवमुक्तिको दर्शन अनि अदालतको बयानमा व्यक्त मानिसको अधिकार हनन र मुक्तिको उद्घोषसँग जोडेर हेर्नुपर्छ।

बीपीका उपन्यासले साहित्यमा एउटा सम्पूर्णताको खोजीका सबै आधार दिएको छ। ती उपन्यासले उनको राजनीतिमा नभेटेका विषयमाथिका विचारहरुमाथिका मिमांशा गर्ने आधार खोलिदिएको छ। त्यसको उदाहरण तीनले जन्माएका समीक्षात्मक र विवेचनात्मक आयामहरुलाई बुझाउँछ। उनको साहित्यको समलोचनामा केही निश्चित पाश्चात्य सिद्धान्त र पुनरुक्तीहरुको प्रयोग त हुन्छ। तर सबैभन्दा बढी प्रयोग गरिएको विषयको नाम फ्रायडवाद हो। जेलमा रहँदा नै त्यो परिवर्तन र उत्तरकाल देखेको कुरा महत्वपूर्ण छ। यो अध्ययन गर्नुपर्छ।

बीपीको राजनीतिले व्यक्तिको मुक्तिका विभिन्न पक्ष, जटिल आयाम र बृहत्तर शक्तिको द्वन्द्वलाई बुझेर जीवन बाँच्ने मोडेलका रूपमा रचना गर्न चाहेको देखिन्छ। कसरी आकार बनाए भन्ने कुरा अध्ययनको खोजी उनको साहित्य अध्ययनको आधार हो। उनको राजनीतिले त्यो आधुनिकता त्यो स्वतन्त्रता र प्रजातान्त्रिक विषयलाई कसरी सम्बोधन गर्‍यो? राजनीतिले कस्ता पात्र रचना गर्‍यो? त्यसको अध्ययनको पाटो पनि यहाँ छ। अध्ययनका आधार सिफ्ट हुँदैछन्।

(कांग्रेसले गत वर्ष भदौ २४ आयोजना गरेको बीपी साहित्य महोत्सवमा प्राडा सुवेदीले राखेको कि-नोट स्पीचबाट। ४२औँ बीपी स्मृति दिवसका अवसरमा यो आलेख पुन: प्रकाशन गरिएको हो।)

प्रकाशित: २०८१ साउन ६ गते आईतबार १२:१७
प्रतिक्रिया

थप समाचार

बीपीले राजनीतिक छाया साहित्यमा प्रवेश गराउनु भएन

आफूलाई राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी भन्नुहुने बीपी मनोवैज्ञानिक साहित्य लेखनमा विश्वस्तरीय रचनाकार हुनुहुन्थ्यो।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना