काठमाडौँ- नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पदभार ग्रहण गरेका छन्। बिहीबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर बस्नेतले पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गरेपछि मन्त्री बस्नेतले स्वास्थ्य सेवा प्राप्त गर्ने जनताको आधारभूत मानव अधिकारलाई सुनिश्चित गर्ने बताए।
सरुवा रोग फैलिन नदिन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तह र दातृ निकाय एवं संघसंस्थाको साझेदारी र लगानीमा स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत मन्त्री बस्नेतले गरेका छन्।
यस्तै, स्वास्थ्य बीमा कार्यक्रमको पहुँच विस्तार गर्ने र अस्पतालको सेवालगायतका विषयमा अनुगमन गरी प्रतिवेदन दिन अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा अनुगमन समिति गठन गर्ने निर्णय मन्त्री बस्नेतले गराएका छन्।
